पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयको ६३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व स्वास्थ्य मन्त्री तथा सांसद पदम गिरीले वर्तमान सरकार गुणस्तरीय शिक्षाको विकासमा उदाशिन बनेको बताउनुभएको छ । संघीय शिक्षा विधेयक पास हुन नसक्दा शिक्षा क्षेत्रका थुप्रै समस्याहरु अन्यौलमा परेको बताउँदै वर्तमान शिक्षा मन्त्री र यो सरकारले फाईल अड्काएर राखेको आरोप लगाउनुभयो । अब लागु हुने संघीय शिक्षा विधेयकमा सवै शिक्षकका मागहरु समावेश हुनुपर्ने बताउँदै विभिन्न शिक्षाविद्हरुले दिएका सुझावहरु समेत समेट्नुपर्ने उहाँको भनाई छ शिक्षा क्षेत्रको विकसाका लागि विधेयक तत्काल पास गरेर लागु गर्नुपर्ने भएपनि सरकारले आनाकानी गर्दा समस्या भएको बताउनुभयो ।

गिरीले सामुदायिक विद्यालयहरुमा विद्यार्थी घट्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै विद्यार्थी घट्दै जाँदा विद्यालय सञ्चालनमा समस्या हुने गरेको उल्लेख गर्नुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा ब्यवस्थापन गरी विद्यालयहरुलाई मर्ज गरेर भए पनि सामुदायिक विद्यालयहरुको ब्यवस्थापन गरिनुपर्ने कुरामा गिरीले जोड दिनुभयो ।
ग्रामीण क्षेत्रहरुमा रहेका कतिपय सामुदायिक विद्यालयहरुमा निकै कम मात्र विद्यार्थीसंख्या हुने गरेको भन्दै त्यस्ता विद्यालयहरुलाई मर्ज गरेर भए पनि विद्यार्थीलाई गुणस्तरीय र सुविधायुक्त सेवा दिनुपर्ने गिरीको भनाई छ । उहाँले वर्तमान शिक्षा प्रणालीमा अंग्रेजी माध्यमको अध्यापनमा विद्यार्थीको आकर्षण हुने गरेका कारण सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यमको अध्यापनलाई प्राथमिकता दिएर विद्यार्थीको भर्नादर बढाउनुपर्ने गिरीको सुझाब छ ।
उहाँले पिपलटारीमा रहेका खानेपानी र सडक लगायत विकास निर्माणका समस्या क्रमस समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम विक, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष शान्त पौडेल, एमाले नेता मेघनाथ सुवेदी, वडा अध्यक्ष रामचन्द्र सुवेदी, नगर शिक्षा प्रमुख दिपक सुवेदी, पुर्व वडा अध्यक्ष सुजन सुनार अमर, नेपाली काँग्रेसका लोकनाथ अधिकारी, नेकपा एमालेका वडा अध्यक्ष रामचन्द्र सुवेदी, माओवादीका अध्यक्ष कृष्ण सुवेदी, भुपु विद्यार्थी समाजका अध्यक्ष राजु पौडेल, शिक्षक अभिभावक संघको तर्फवाट डिल्लिराम शर्मा, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक दिलिप पौडेल लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक नारायणप्रसाद अर्यालले बार्षिक प्रतिवेदन तथा आयव्यय सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्नुका साथै विभिन्न खेलकुद तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट भएकाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन शिक्षक सन्तोष पौडेलले गर्नुभएको थियो । कक्षा ८ सम्म पुणर्रुपमा अंग्रेजी माध्यममा कक्षा संचालन गर्दै आएको उक्त विद्यालयमा २०७६ सालदेखि तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयको स्वीकृत प्राप्त गरी शिभिल इन्जिनियरिङ्गका कक्षाहरु समेत संचालन हुँदै आएका छन् ।
कार्यक्रमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रतिभा समेत प्रहसन गरेका थिए । कार्यक्रमको स्वागत पुर्व प्रअ सरोज केसी र संचालन शिक्षक सन्तोष पौडेलले गर्नुभएको थियो ।






