पर्वतको नमुना माविका विद्यार्थीले बनाए ड्रोन, परिक्षण सफल - News site from Nepal
पर्वतको नमुना माविका विद्यार्थीले बनाए ड्रोन, परिक्षण सफल

पर्वत – पर्वतको एक विद्यालयका छ जना विद्यार्थीले मानव रहित हवाई यन्त्र ड्रोन निर्माण गरेका छन् ।
सदरमुकाम कुश्माबजार स्थित नमना आवासीय माविका छ जना विद्यार्थीले ड्रोन निर्माण गरी आकाशमा उडाउन सफल भएका हुन् ।

नमुना आवासीय मावि कक्षा १० मा अध्ययनरत छ जना विद्यार्थीहरुले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधवार सफल परिक्षण गरेका हुन् । कक्षा दशमा अध्ययरत उत्सभ गिरी, विज्ञान पौडेल, सुजन सुवेदी, चिन्तन सुवेदी, निश्चल साही र सविन आरडीले ड्रोन बनाएका हुन् । क्यामेरा जडान गर्न सकिने उक्त ड्रोन पाँच सय मिटर वरिपरी उडाउन सकिने क्षमताको रहेको छ ।

कतिपय स्थानीयस्तरमा र कतिपय पोखरा, काठमाण्डौ, बुटवल र भारतवाट समेत सामाग्री जुटाएर ड्रोन निर्माण गरिएको विद्यार्थी उत्सभ गिरीले जानकारी दिनुभयो । विज्ञान विषयमा सिकेको ज्ञान तथा युट्युव, वेवसाईट, शिक्षक तथा विभिन्न प्रदर्शनीहरुमा देखेको आधारमा ड्रोन तयार पारिएको गिरीले बताउनुभयो ।

ड्रोनमा क्यामेरा जडान गरेरमा फोटो तथा भिडियो खिच्न सकिन्छ भने यसलाई परिमार्जन गरेर सामान बोक्नका लागि प्रयोग समेत गर्न सकिने अर्का विद्यार्थी विज्ञान पौडेलले बताउनुभयो । उहाँका अनुसार यसका लागि आवश्यक सामाग्रीहरु स्थानीयस्तरमा नपाईने भएकाले लामो समय लागेको हो । गत माघ अन्तिम समयदेखि ड्रोन निर्माण शुरु गरिएको भएपनि आवश्यक उपकरण समयमै उपलव्ध नभएकाले वैशाख अन्तिम सातामात्र उनिहरुले पुणर्ता दिएका हुन् ।

ड्रोन निर्माणको लागि आफ्नो सिप र परिश्रम बाहेक रु. ५१ हजार सात सय ५० रुपैया खर्च लागेको ड्रोन निर्माणकर्ता विद्यार्थी सुजन सुवेदीले बताउनुभयो । फ्रेम, पंखा, इन्जिन, ब्याट्री, मोटर, फ्लाईट कन्ट्रोलर, ट्रान्समिटर, इएसी लगायतका उपकरण प्रयोग गरिएको उहाँले बताउनुभयो ।

बिद्यालयको नियमित पठनपाठनको अतिरिक्त समय व्यवस्थापन गरेर ड्रोन तयार गरिएको हो । विश्वमा विभिन्न यन्त्र, उपकरणहरुको आविश्कार भैरहेका छन्, यो विद्यार्थीहरुले पनि गर्न सकिन्छ भन्ने लागेर दोस्रो प्रयासमा ड्रोन तयार भएको सुवेदीले बताउनुभो । उनिहरुले यस अघि रोवर्ट पनि बनाएका थिए ।

नमुना आवासीय माविका प्रद्यानाध्यापक इन्द्रमान खत्रीले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापको रुपमा प्रविधितर्फ आकर्षण भएको बताउनुभयो । उहाँले प्रविधिको हिसावमा विश्वलेनै फड्को मारेका बेला आफ्ना विद्यालयका विद्यार्थीहरुले पनि यान्त्रिक उपकरण बनाएर सफल परिक्षण गरेको बताउनुभयो । उनिहरुलाई विद्यालयले पनि आवश्यक साथ सल्लाह र हौसला प्रदान गरेको बताउनुभयो । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले विभिन्न शैक्षिक प्रदर्शनीमा जाँदा अन्य क्षेत्रका विद्यार्थीहरुले गरेका विभिन्न आविश्कारका बस्तुहरु देखेपछि आफ्नो विद्यालयका विद्यार्थीले पनि ड्रोन निर्माण गरेको बताउनुभयो । विद्यार्थीले रुचि देखाउने हो भने जस्तोसुकै आविश्कार पनि गर्न सम्भव हुँदो रहेछ भन्ने उनिहरुको मेहनतले देखाएको र विद्यालय र अभिभावकहरुले पनि आवश्यक वातावरण बनाईदिनुपर्ने बताउनुभयो ।

ड्रोन बनाएर उडाएका विद्यार्थीहरुले अब सामान बोक्न मिल्ने ड्रोन बनाउने तयारी गरेका छन् । त्यसका लागि आवश्यक सामाग्री जुटाउन थालेको बताएका छन् । उनिहरु ६ जनाले नै उच्च शिक्षामा इलेक्ट्रोनिक इन्जिनियर बन्ने योजना समेत बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!