पर्वत १४ पुस : पर्वतको मोदी गाउँपालिकामा संचालित दुई दिने निःशुल्क मुटुु परिक्षण स्वास्थ्य शिविरमा साढे ११ सय जनाले मुटु परिक्षण गराएका छन् ।
आर्थिक अभावका कारण लामो समयदेखि रोग लुकाएर बसेका विपन्न र असहाय ग्रामीणवासीलाई मध्यनजर गर्दै शुक्रवार र शनिवार गरी दुई दिने शिविर आयोजना गरिएको थियो । सेभ द हार्ट लाजिम्पाट काठमाडौंको सहयोग र मोदी गाउँपालिका पर्वतको आयोजनामा संचालन गरिएको शिविरमा मोदी गाउँपालिकाका ८ वटै वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाका नागरिक गरी एक हजार एक सय ४४ जनाले सेवा लिएका थिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरहरु अनिल भट्टराई र डा सुर्य देवकोटा सहितको विशेषज्ञ चिकित्सक टोलीबाट निशुल्क मुटुरोग परिक्षण गरिएको थियो । शिविरवाट सेवा लिने मध्ये पाँच सय ९५ जनाको मुटुको इसिजी र तीन सय ४७ जनाको ईको गरिएको थियो । परिक्षण गरिएका मध्ये गम्भिर प्रकृतिका विरामीलाई अस्पताल जान सिफारीस समेत गरिएको छ भने औषधि समेत निःशुल्क वितरण गरिएको छ ।
शिविरमा रु.७ लाख बराबरको औषधि वितरण समेत गरिएको हो । सेभ द हार्टको तर्फबाट कुल रु.२९ लाख ८३ हजार चार सय ५० बराबरको सहयोग प्राप्त भएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न र अस्पताल सम्म पुग्न नसक्ने बिरामीहरु बढि मात्रामा लाभान्वित भएका छन् ।
निशुल्क स्वास्थ शिबिर संचालनका २३ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकको टोली परिचालन भएको थियो । काठमाण्डौदेखि आएका चिकित्सक सहितको टोलीसँगै स्थानीय स्वास्थ्यकर्मीहरु समेत परिचालन भएका थिए । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले नागरिकलाई नजिकको सरकारको प्रत्याभूति गराउनका लागि पालिका आफैले शिविर आयोजना गरेर मुटु जस्तो जटिल रोगवाट ग्रसित बिरामीहरुको उपचार गराईएको बताउनुभयो । उहाँले पालिका भित्रका अधिकांस मुटुरोगीहरु शिविरमा सहभागि भएको बताउनुभयो ।
मुटुरोग लागेको वर्र्षौपछि गाउँमै स्वास्थ्य सेवा पाएकोमा बयस्क भन्दा बृद्धाबृद्धाहरु हर्षित बनेका थिए ।






