पर्वत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय सरकारहरुले आत्मनिर्भरमुखि कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभएको छ ।
पर्वतको मोदी गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकिय भवनको सोमवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई गाउँमै सिंहदरवारको अधिकार आएको अनुभूति हुने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । संघीयता कार्यान्वयनपछि गाउँमै सिंहदरवार आयो भन्ने तर दरवार मात्र बन्ने कार्यक्रम र सेवा प्रवाह सहज नभएको भन्दै अब पुरानो पद्धतिले समृद्धि हासिल हुन नसक्ने बताउनुभयो । भवन बनेर मात्र पालिकाको विकास नहुने भन्दै नागरिकलाई सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न समेत उहाँको आग्रह थियो ।
नागरिकलाई प्रत्यक्ष रुपमा लाभ मिल्ने खालका कार्यक्रम स्थानीय तहहरुले बनाउनुपर्दछ भन्दै रोजगारमुलुक र स्वरोजगारमुखि कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाई छ । स्थानीय तहहरुमा थुप्रै खालका सम्भावना छन् अध्यक्ष तिमिल्सिनाले भन्नुभयो-‘स्थानीय नागरिकको आवश्यकता अनुसारका कार्यक्रम ल्याउनुपर्दछ, जसले बढ्दो युवा पलायन रोकियोस ।’ संघीय सरकार र प्रदेश सरकारको मात्र मुख ताकेर स्थानीय तहहरु समृद्ध नबन्ने बताउँदै तिमिल्सिनाले पालिकाभित्र भएका कृषि, पशुपालन, मौरीपालन, काष्ठ तथा जडिबुटिजन्य उद्योगहरु स्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले पर्वतका सवै पालिका र अधिकांस वडामा गुणस्तरीय सडक पुगिसकेको बताउँदै अब गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानी केन्द्रीत गर्न जोड दिनुभयो । गाउँमा केहि सम्भावना नदेखेर हैन कि बढि कमाउनका लागि मात्रै बाहिर जाने बातावरण बनाउनुपर्दछ, अध्यक्ष तिमिल्सनाले .भन्नुभयो -‘विदेश जाँदैमा सजिलोगरी कमाउन सकिदैन, सोहि अनुसारको मेहेनत आफ्नै खेतवारीमा गर्ने हो भने पनि पर्याप्त कमाई हुन्छ, त्यो वातावरण स्थानीय सरकारहरुले बनाउनुपर्दछ ।’
तिमिल्सिनाले निकट भविष्यमै मोदी गाउँपालिका र चीनको एक स्थानीय सरकारबीच भगिनि सम्वन्ध कायम हुने क्रममा रहेको बताउँदै त्यसपछि त्यस ठाउँको विकास समृद्धिलाई अनुसरण गरेर मोदी गाउँपालिकाको विकासमा साझेदारी गर्न सकिने बताउनुभयो । मोदी गाउँपालिकामा उत्पादित कृषि तथा जडिबुटि जन्य बस्तु समेत निर्यात गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाई, गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, मित्रलाल बस्याल, रेखा गुरुङ लगायतले सम्वोधन गर्नुभएको थियो । त्यसैगरी पुर्व पालिका अध्यक्ष प्रेम पौडेल, वडा अध्यक्ष विकास तिमिल्सिना, भवन निर्माण समितिका सचिब देवराज पुरी लगायतले बोल्नुभएको थियो । पालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विमल लामिछाने र संचालन शिक्षा अधिकृत दिनेश शर्माले गर्नुभएको थियो । सो अवसरमा भवन निर्माणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सहयोग समेत गरिएको थियो ।
२०७७ साल जेठदेखि भवन निर्माण शुरु भएको हो । रु. तीन करोड ४९ लाख रुपैयाको सम्झौतामा फेवा कन्ट्रक्सन प्रालि पोखराले निर्माण गरेको भवनमा १४ वटा कोठा रहेका छन् । यस अघि भाडाको घरमा संचालन हुँदै आएको पालिकाले भवन निर्माणसँगै सवै सेवाहरु आफ्नै कार्यालयवाट दिन थालेको छ । भवन बनेपछि मासिक रुपमा तीर्नुपर्ने भाडा बचत हुनुका साथै नागरिकहरुलाई एकीकृत रुपमा सेवा प्रवाह गर्दा सहज भएको पालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।






