पर्वत- पछिल्लो समय लोप हुँदै गएको लदि पूजा (नदि पर्व) पर्वत र बागलुङका माझी समुदायले सामुहिक रुपमा मंगलबार धुमधामसँग मनाएका छन् ।
सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरूलाई नदी तार्ने, बालुवा चालेर सुन निकाल्ने काम बन्द भएपछि लदि पूजा पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा गत वर्षदेखि यो पर्व मनाउन थालिएको हो ।
द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा लदि पूजा हुन सकेको थिएन । अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्व कालदेखि नै खोलाको किनारमा बसि माछा मार्ने, डुंगा (नाउ) मा राखि मानिसहरूलाई नदी तारिदिने काम गर्थे । उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने, त्यहीँ बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहीआएको नेपाल माझी उत्थान संघ पर्वतले जनाएको छ ।

लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुख्र्यौली पेशा नदीमा डुंगा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ । वर्षातको समयमा नदीले वर्षेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्याओस् भनेर नदीको पूजा गरिँदै आएको नेपाल माझी उत्थान संघ पर्वतका अध्यक्ष बलबहादुर माझीले जानकारी दिनुभयो ।
लदि पूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्यू चोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको कार्यक्रममा सहभागि देवी माझीले बताउनुभयो । माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उहाँको भनाई छ ।
लोपोन्मुख रुपमा रहेको माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ । परम्परागत पेशामै निर्भर रहेको यो समुदायलाई राज्यले विभिन्न तालिम तथा स्वरोजगारमुलक कार्यक्रमहरु ल्याउनुपर्ने स्थानीय गणेश माझीले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले माझी समुदायका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताउनुभयो । आधुनिक प्रविधिको विकाससँगै माझी समुदायको पेशा संकटमा पर्दै आएको बताउँदै नगरप्रमुख जोशीले अब यो समुदायले आफ्नो पेशा व्यावसायलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले बैकल्पिक पेशाहरु अबलम्वन गर्न समेत सुझाव दिनुभयो । जोशीले माझी समुदायलाई बैकिल्पक बासस्थानको व्यवस्था र पेशाका लागि नगरले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष परशुराम पुरी, बागलुङ नगरपालिका वडा नं. १२ का वडा सदस्य गुणराज लामिछाने, नेपाल आदीवासी जनजाती महासंघ पर्वतका पुर्व अध्यक्ष राजन गुरुङ लगायतले बोल्नुभएको थियो ।
नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य अन्जली माझिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सरु माझी र संचालन बलबहादुर माझीले गर्नुभएको थियो ।
पर्वत र बागलुङको संगम स्थलमा पर्ने मालढुंगामा झण्डै ३ सयको संख्यामा माझी समुदायका परिवार बस्दै आएका छन् । भने बागलुङको बलेवा क्षेत्र, पर्वतको विहादी र फलेवासमा पनि माझी समुदायको बसोबास रहेको छ ।






