पर्वत १६ वैशाख ः लामो समयदेखिको खडेरीका कारण अत्याधिक गर्मी बढेको छ । गर्मीसँगै पर्वतका वनजंगलमा ढडेलोका घटना समेत उल्लेख्य मात्रामा बढ्दै गएका छन् ।
एकै दिन दर्जनौ वनमा आगालागी हुँदा सुरक्षा निकायलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । विशेषगरी शसस्त्र प्रहरी बलको २५ नम्वर गण चण्डिका पर्वतले डढेलोवाट जनधनको क्षति हुन नदिका लागि बढि सक्रियता देखाएको छ । यस वर्ष पर्वतमा ८० वटा वनक्षेत्रमा आगालागी भैसकेको छ । आगलागीवाट १५ सय हेक्टर भन्दा बढि वनक्षेत्र नष्ट भएको छ ।
जसमध्ये पर्वतमा रहेको शसस्त्र प्रहरी बल नेपाल नं. २५ हेडक्वाटर चण्डिकाको टोली २६ ठाउँमा खटिएको छ । शनिवारसम्म जिल्लाका ४१ ठाउँवाट डढेलो नियन्त्रणका लागि सुचना आएको भएपनि २६ ठाउँमा टोली परिचालन भएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।
यस वर्षको गर्मीयाम शुरु भएपछि चण्डिका गणवाट मात्रै डढेलो नियन्त्रणका लागि ५ सय २० जना सशस्त्र प्रहरी खटिएको उहाँले बताउनुभयो । शुक्रवार मात्रै जिल्लाका एक दर्जन भन्दा बढि स्थानमा आगलागी भएको थियो । वनभित्रकै डढेलो नियन्त्रण गर्न असम्भव भएपनि बस्ती र मानविय क्षति नियन्त्रण गर्न सफल भएको थापाले बताउनुभयो ।
विपद विज्ञको संख्या धेरै नभएकाले केहि दिनको अग्नि नियन्त्रण सम्वन्धि तालिम प्राप्त प्रहरीहरु आगलागी नियन्त्रणमा परिचालन गर्ने गरिएको छ । सशस्त्र प्रहरीले केहि दिने पहिले अग्नि नियन्त्रण सम्वन्धि डेमो समेत प्रदर्शन गरेको थियो । यस्ता डेमो प्रदर्शनले प्रहरीलाई थप सिकाई हुने थापाले बताउनुभयो ।
शसस्त्र प्रहरी बाहेक नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासीहरुसमेत आफ्नो बनजंगल र बस्ती जोगाउन खटिने गरेका छन् । उनिहरुलाई डिभिजन वन कार्यालय पर्वतले विभिन्न उपकरणहरु सहयोग गरेको छ ।

प्राकृतिक कारण भन्दा मानविय लापरबाहीले डढेलोका घटना बढेको पाईन्छ । पर्वतमा अहिलेसम्म डढेलो लगाउने काममा संलग्नलाई पहिचान र पक्राउ गर्न सकिएको छैन । जसका कारण दैनिकजसो वनजंगल, खरवारी लगायत भिरपाखामा आगो लगाउनेहरुको संख्या बढ्दै गएको छ । कतिपयले खरवारीमा राम्रो घाँस पलाउने भन्दै डढेलो लगाउँदा त्यसले विकराल रुप लिने गरेको देखिन्छ ।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले जनचेतनाका लागि विभिन्न कार्यक्रमहरु गरेपनि आगलागी नियन्त्रण हुन नसकेको बताउनुभयो । उहाँले मानविय लापरबाहीकै कारण डढेलोका घटना बढेको भन्दै जनेचतना विस्तारका लागि थप कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । डढेलोका कारण ठुलो वनक्षेत्र नष्ट हुनुका साथै बन्यजन्तु र काठदारउाको ठुलो नोक्सानी भएको सापकोटाले बताउनुभयो ।






