पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु, आर्थिक संकटको सामना गर्न सवै एकजुट हुनुपर्छ ः सांसद गिरी - News site from Nepal

 

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो ।
फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गरे । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताए ।
गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । यो देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको भनाई छ ।
सांसद गिरीले मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपुणर् रहेको भन्दै महोत्सवलाई सफल बनाउन सवैले सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, रेखा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल रामकृष्ण, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल,  नेपाली काङ्ग्रेस पर्वतका उपसभापति शिव सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पाैडेल, माओवादी केन्द्रका शंकर गिरि, पर्वत उद्योग  बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, पुन युवा क्लवका सल्लाहाकार सोम पुन, गणेश पुन लगायतले बोलेका थिए । कार्यक्रम पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सप्पन्न भएको थियो ।

महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहेका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई रु. एक सय, विद्यार्थीका लागि रु. ६० रुपैयाको टिकट र बयोबृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटन पुर्व कुश्माबजारमा विभिन्न जातजाती, समुदाय र संस्कृतिका भेषभुषा सहित र्‍याली प्रदर्शन गरिएको थियो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ शुरु गरिएको महोत्सवमा मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!