पर्वत-ः गण्डकी प्रदेशका मुख्य मन्त्री सरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
पर्वत अस्पतालमा हेमो-डायलाईसिस सेवा विस्तारको शनिवार शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वास्थ्य क्षेत्र केन्द्रीत गरिने जानकारी दिनुभयो । उहाँले प्रदेशको स्वास्थ्य सुधारमा धेरै आवश्यकता रहेपनि श्रोत र साधन सिमीत हुँदा तत्काल गर्न नसकिएको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले नागरिकले सम्पत्ति बेचेर उपचार गर्नुपर्ने दिनको अत्य गरिने बताउनुभयो । कुनै ठुलो रोग लागिहाल्यो भनेपनि सामान्य नागरिकले आफ्नो घरखेत, बाख्रापाठ विक्रि गरेर उपचार गर्न नपरोस् भन्नेतर्फ प्रदेश सरकार गम्भिर भएर लागेको उहाँको भनाई छ ।
पाण्डेले आगाामी आर्थिक वर्ष भित्र मृगौलाको डायलाईसिस गर्नुपर्ने विरामीको संख्या शुन्यमा झारिने बताउनुभयो । अहिले भैरहेको श्रोत साधनवाट ६६६ जनाले उपचार सेवा लिईरहेको र अझै १ सय ७८ जना डायलाईसिस गर्नुपर्ने बिरामी प्रतिक्षारत रहेको बताउँदै एक वर्ष भित्रमा यो संख्या शुन्यमा झारिने दावी गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा गोरखा र पर्वत अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको अस्पताल बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले दश वर्ष मुनिका बालबालिकाको उपचारसेवा गतवर्षदेखिनै निःशुल्क गरिदै आएको बताउँदै स्वास्थ्य सेवालाई सर्वसुलभ र गाउँगाउँमा रहेका स्वास्थ्यचौकिसम्म गुणस्तरीय सेवा विस्तारका लागि पहल भैरहेको बताउनुभयो । उहाँले पर्वत अस्पतालमा चालु आर्थिक वर्षभित्रै बि ग्रेडको एम्बुलेन्स सेवा उपलव्ध गराउने र खानेपानीको समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उहाँले आगामी वर्षदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम दिने व्यवस्था गरिने बताउँदै उक्त कार्यक्रमले पोखरामा मात्र सिमीत विशेषज्ञ डाक्टरहरु अन्य जिल्लामा समेत जाने विश्वास व्यक्त गर्नुभयो । विशेषज्ञ डाक्टरहरुको दरवन्दी प्रदेशभरीनै अभाव छ उहाँले भन्नुभयो ‘पोखरा भन्दा बाहिरी जिल्लामा जान नमान्ने समस्याले पनि नागरिकले सेवा पाउन नसकेका हुन् ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले स्वास्थ्यलाई सर्वसुलभ र नागरिकमुखि बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले महिलाहरुमा पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका समस्याहरुको निशुल्क उपचार गर्ने व्यवस्था ल्याउनका लागि आफुले संसदवाट नीति निर्माणमा भूमिका खेल्ने बताउनुभयो ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब डा. विनोदबिन्दु शर्माले गण्डकी प्रदेशका पर्वत, बागलुङ, लमजुङ स्याङ्जा लगायतका जिल्लामा डायलाईसिस गर्नुपर्ने प्रतिक्षारत बिरामीको संख्या शुन्यमा झरिसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारले थप रु. १ करोड ५५ लाख रुपैया बिनीयोजन गरेकाले अन्य जिल्लामा पनि डायलाईसिस गर्नुपर्ने बिरामीलाई चालु आर्थिक वर्षभित्र सेवा दिनेगरी तयारी गरेको बताउनुभयो । उहाँले सुत्केरी हुन नसकेका महिलाहरुलाई प्रदेश सरकारले निशुल्क हेलिकप्टर सेवा शुरुवागत गरेको बताउँदै चालु आर्थिक वर्षमै ६४ जना महिलाहरुले सेवा लिएको बताउनुभयो । प्रदेशका ११ वटै जिल्लामा चौविसै घण्टा हेलिकप्टर सेवा संचालन भैरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले पनि बोल्नुभएको थियो ।
वि.सं. २०७७ साल साउनदेखि अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट शुरु गरिएको मिर्गौलाको डायलाईसिस सेवालाई अहिले थप विस्तार गरिए ७ वटा पुर्याईएको हो । सेवा विस्तार भएपछि हप्तामा दुई पटक सम्म सेवा लिनुपर्ने बिरामीलाई थप सहज भएको छ । अहिले पर्वत, बाग्लुङ र म्याग्दीका गरी २६ जना बिरामीले पर्वत अस्पतालबाट नियमित डायलाइसिस सेवा लिँदै आएका छन् । अझै थप सात जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बास्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रम पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष गिरीले पर्वत अस्पताल विभिन्न समस्याका बाबजुत पनि प्रदेशमै उत्कृष्ट कार्यसम्पादन गरिरहेको बताउँदै यसको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।