
पर्वत १० असोज ः पर्वतका तीन उत्कृष्ट पालिकालाई सम्मानित भएका छन् । जिल्ला समन्वय समिति पर्वतले बार्षिक समिक्षाको अवसरमा स्थानीय तह संस्थागत क्षमता मुल्यांकन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा जिल्लामै सवैभन्दा बढि अंक प्राप्त गर्ने प्रथम, द्धितिय र तृतियलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको हो ।
पर्वतमा सवैभन्दा बढि अंक सहित पर्वतको जलजला गाउँपालिकाले प्रथम स्थान हासिल गरेको छ । आर्थिक वर्ष ०७९/०८० मा गरेको मुल्यांकनमा जलजला गाउँपालिले ८६ अंक प्राप्त गर्दे गण्डकी प्रदेशभरमा दोस्रो भएको हो भने पर्वतमा पहिलो भएको हो ।
सामान्य प्रशासन मन्त्रालयले प्रकाशित नतिजा अनुसार जलजलाले शासकीय प्रवन्धमा ८.५,संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ५.७५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०,सेवा प्रवाह १३.७५,न्यायिक कार्यसम्पादनमा ६,भौतिक पूर्वाधारमा ११.५,सामाजिक समावेशीकरणमा १०,वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८.५ र सहकार्य र समन्वयमा ४ अंक प्राप्त गरेको थियो ।
यसैगरी महाशिला गाउँपालिका दोस्रो भएको छ । लिजामा केहि कम अंक प्राप्त गरेर तेस्रो स्थानमा रहेको महाशिला एफ.आर.ए बढि अंक प्राप्त गरेकाले जिल्लामा दोस्रो भएको हो । भने फलेवास नगरपालिकाले ७५ प्रतिशत अंक सहित पर्वतमा तेस्रो भएको जिल्ला समन्वय अधिकारी किरण पौडेलले बताउनुभयो ।
सामान्य प्रशासन मन्त्रालयले प्रकाशित नतिजा अनुसार मोदी गाउँपालिकाले ६६.७५ अंक प्राप्त गरी चौथो स्थानमा हुँदा पैयु गाउँपालिकाले ६६ अंक प्राप्त गरी पाँचौ स्थानमा पुगेको छ । त्यसैगरी कुश्मा नगरपालिकाले ६४ अंक प्राप्त गरी जिल्लामा छैटौ स्थानमा छ भने सवैभन्दा कमजोर देखिएको विहादी गाउँपलिकाले ५१ प्रतिशत अंक प्राप्त गरेको छ ।
मन्त्रालयले हरेक वर्ष गाउँपालिका तथा नगरपालिकाहरुले सञ्चालन गरेका कार्यक्रम, बजेटको अवस्था, पालिका स्थित विषयगत समितिहरुको कामकारवाही र अवस्था, सम्बन्धित पालिकाहरुमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको अवस्था तथा लक्षित समुदायका सञ्चालित कार्यक्रमहरुको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गर्दछ ।
मन्त्रालयले गाउँ/नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता मुल्यांकन गर्दै आएको छ ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले स्थानीय सरकारहरु जनमुखि हुनुपर्नेमा जोड दिए । नागरिकको नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारहरु जनताको चाहना र हित बमोजिम काम गर्नुपर्ने बताए । उनले सरकारी कार्यालयका काम कारबाही पारदर्शि र गुणस्तरयुक्त बनाउन समेत जोड दिएका छन् ।