ओझेलमा परेको पर्वतको प्रसिद्ध अलपेश्वर गुफाको विकासका लागि महायज्ञ हुने - News site from Nepal

पर्वत –  पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल अलपेश्वर गुफाको विकास र प्रवद्र्धनका लागि ज्ञानमहायज्ञ गरिने भएको छ ।

जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीमा अवस्थित गुफा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै गएपछि महायज्ञ मार्फत विकास गर्न थालिएको हो । झण्डै डेढ दशक पहिले मात्र फेला परेको यो गुफा अलौकिक भएपनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन । सुरुवातका केहि वर्ष आन्तरिक तथा बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ ।

एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्ने सम्भावना भएकाले अलपेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्रले यहि माघ २३ गतेदेखि २९ गते सम्म महायज्ञ गर्न थालेको हो । ८ दिनसम्म संचालन हुने महायज्ञमा पण्डित चन्द्रकान्त पौडेलले कथा बाचन गर्नुहुने प्रचार प्रसार समिति संयोजक केशबदास बैरागीले जानकारी दिनुभयो ।

तीन तलाको यो गुफाको मुख्य प्रवेशद्वार कटुवाचौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ । गुफा भित्र रहेका ताल तलैया र स-साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ । जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शंख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिन्छ । सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा-ज्ञादी र खरेहा-अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान नपुगेपछि महायज्ञ मार्फत आर्थिक संकलन गरेर प्रवद्र्धनमा जुटेको संरक्षण समितिका अध्यक्ष सुरेश पिसिले जानकारी दिनुभयो ।

विभिन्न जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम लगायत आन्तरिक र बाह्य पर्यटक नजिकै रहेको सदरमुकाम कुश्माका अग्ला पुल, बञ्जिजम्प र जीपलाई जस्ता क्षेत्रमा भरिभराउ हुने गरेपनि नजिकै रहेको यो गुफासम्म पुग्न सकेका छ्रैनन । समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूणर्, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ । गुफाको ढाँचा हेरेर उत्तरतर्फ बगिरहेको गङ्गादेखि महादेव शिव प्रकट भई यस गुफामा आएर अल्प भएको किवंदन्तीबाट यस गुफाको नाम अल्पेश्वर राखिएको भनाइ रहेको अध्यक्ष पिसीले बताउनुभयो ।

गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेरा बस्ने गरेको अध्यक्ष पिसीले बताउनुभयो । यहाँ साउनको प्रत्येक सोमबार, शिवरात्रि, बालाचदतुदर्शी लगायतका पर्वमा मेला लाग्ने गर्दछ ।
“प्रकृतिले दिएको अथाह सम्पत्तिलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, त्यो भएन । हामीले स्थानीयरूपमा धेरथोर गरेकै छौं, त्यो पर्याप्त नहुने रहेछ”, अध्यक्ष पिसीले भन्नुभयो, जेठदेखि असोजसम्म पानीको बहाव गुफाभित्रै छिर्ने हुँदा पाँच महिना जति गुफामा प्रवेश गर्न केहि कठिन हुने भएपनि अन्य समय भने मनमोहक छ । महायज्ञवाट संकलित रकमले गुफामा बाह्र्रै महिना अबलोकन गर्न सकिने गरी संरचना निर्माण गरिने भएको छ ।

सहरको कोलाहलदेखि दिक्क लाग्नेहरुका लागि केही छिन भए पनि प्राकृतिक आनन्दको मज्जा लिन सक्ने उचित गन्तव्य राज्यको वेवास्ताका कारण आझेलमा परेपछि समिति आफै सक्रिय बनेर महायज्ञ लगाउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!