पर्वतको दोविल्लामा कृषि फार्म चलाएर मन्नग्गे आम्दानी गर्दै नेसपा नेतृ क्षेत्री - News site from Nepal

पर्वत –  पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी देवीकुमारी क्षेत्रीले कृषि फार्म संंचालन गरेर बार्षिक रु. १२ लाख रुपैया भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ ।

सुन्दरेखोला कृषि तथा पशुपालन फार्म संचालन गर्नुभएकी क्षेत्रीले बार्षिक रुपमा रु. १२ लाख रुपैया भन्दा बढि आम्दानी गर्दै आउनुभएको हो । आफ्नै दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आउनुभएकी क्षेत्रीले बार्षिक १५ हजार किलोग्राम भन्दा बढि माछा विक्रि गर्दै आउनुभएको छ ।

माछा मात्र हैन उहाँको फार्ममा गाईभैसी समेत रहेका छन् । उहाँले दैनिक ३० देखि ४० लिटर दुध बजारमा विक्रि गर्दै आउनुभएको छ । भने कोईलर र स्थानीय जातका कुखुरा, बाख्रा र हाँस पालन पनि गर्नुभएको छ । रु. २५ लाख रुपैया लगानी गरेर विगत सातवर्षदेखि संचालनमा आएको उक्त फार्मवाट सन्तोषजनक आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।

क्षेत्रीको फार्ममा उत्पादित माछा, दुध, बाख्रा, बोका, कुखुरा, हाँस बिक्रि गर्न बजार जानु पर्दैन । मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्ड नजिकै भएकाले ग्राहक तथा ब्यावसायी घरमै आएर खरिद गर्ने गरेको क्षेत्रीले बताउनुभयो । ‘शुरुमा लगानी धेरै गरेँ, व्यावसाय चन्दैनकी भन्ने लागेको थियो, तर उत्पादन भएका सवै चिजहरु सहजै घरवाटै विक्री हुन थालेपछि लगानी र व्यावसाय समेत थप गर्दै गएको उहाँले बताउनुभयो । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

क्षेत्रीले फार्मवाट भएको कमाईवाट दुई छोरालाई अमेरिका पठाउनुभएको छ भने श्रीमान समेत बैदेशिक रोजगारीमै हुनुहुन्छ । उहाँले फार्ममा तीन जनालाई रोजगारी समेत दिनुभएको छ । ‘म सानैदेखि केहि पेशा व्यावसाय गर्नुपर्छ भन्ने मान्यता बोकेकी मान्छे हुँ, क्षेत्रीले भन्नुभयो ‘यस अघि व्यावसायिक बंगुरपालन समेत गरे, त्यो भन्दा अगाडी स्थानीय मदिरा उत्पादन गरे, पछि आएर यो फार्म संचालन गरेकि हुँ ।’

पेशा व्यावसाय गर्न महिलाहरुलाई पुरुषकै सहारा चाहिन्छ भन्ने कुरालाई चुनौती दिँदै आफुँले सफल रुपमा फार्म संचालन गरेको उहाँको भनाई छ । अधिकांस समय फार्ममै ब्यस्त देखिने क्षेत्री राजनीतिमा समेत सक्रिय हुनुहुन्छ । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभाग प्रमुख समेत रहनुभएकी क्षेत्री, महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा समेत काम गर्दै आउनुभएको छ । ‘पार्टीको कार्यक्रम परेमा सवै जिल्लामा समेत जाने गरेँकी छु । कार्यक्रम नपर्दा फार्मकै रेखदेखमा समय दिन्छु ।’ उहाँले भन्नुभयो ।

दरिलो आँट, समयको व्यवस्थापन र मेहनतका साथै पेशा व्यावसायमा निरन्तरता दिने हो भने आम्दानी गर्न बिदेश जान नपर्ने उहाँको भनाई छ । क्षेत्रीले छोराहरु आफ्नो भविष्यका लागि बैदेशिक रोजगारीमै रहेपनि श्रीमानलाई भने स्वदेशमै फर्कन आग्रह गरेको बताउनुभयो । स्वदेशमै फर्केर आफुले गरिरहेको पेशालाई निरन्तरता दिन आग्रह गरेको र उहाँले फर्किने सोच समेत बनाईसक्नुभएको उहाँको भनाई छ ।

क्षेत्रीले कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका संस्थावाट प्राविधिक तथा अन्य तालिम र सहयोग समेत लिदै आउनुभएको छ । स्वदेशमै रहेर व्यावसायिक रुपमा कृषि पेशा गर्नेहरुलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग गरेमा बढ्दो युवा पुस्ताको पलायनदर रोकिने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!