मालढुंगा-बेनी सडक चार ठाउँमा अवरुद्ध - News site from Nepal
मालढुंगा-बेनी सडक चार ठाउँमा अवरुद्ध

पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक ठाउँठाउँमा अबरुद्ध बनेको छ ।

गएरातीदेखि लगातार परेको भारी वर्षाका कारण पर्वतको जलजला गाउँपालिका वडा नं. ८ को खनियाघाट र फर्से, वडा नं. ७ को केराबारीमा माथिवाट झरेको पहिरो तथा जलजला गाउँपलिका वडा नंं ४ लामाखेतमा रहेको ठाडो खोलावाट आएको ठुलो मात्राको लेदोसहितका बाढीले सडक अवरुद्ध बनेको हो । मालढुंगादेखि बेनी सम्मको १३ किलोमिटर दुरी मध्ये जलजला गाउँपलिकाका चार ठाउँमा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोले गएरातीदेखिनै सडक अवरुद्ध बनेको पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा रोकिएलगत्तै विहानदेखि सडक खुलाउन प्रयास भैरहेको र दिउँसोसम्ममा संचालनमा ल्याउन सकिने ओझाले बताउनुभयो । यो समयमा बैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । निर्माणाधिन यो सडक पटक पटक अवरुद्ध हुने गरेको भन्दै बागलुङतर्फको सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारी साधन वारीबेनीमा अलपत्र बनेका छन् । अन्यवाट आएका सवारीसाधन मालढुंगामा अलपत्र बनेका छन् । सडक खुलाउनका लागि बेनी-मालढुंगा सडक निर्माणको जिम्मा पाएको एपेक्स-खड्का-कृष्ण जेभी तथा जलजला गाउँपालिकाको जेसिबी र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । निर्माणाधिन यो सडक सामान्य वर्षा हुँदा समेत अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!