पर्वतका उद्योगी, व्यावसायीलाई कर शिक्षा प्रदान - News site from Nepal
पर्वतका उद्योगी, व्यावसायीलाई कर शिक्षा प्रदान

पर्वत- आयकर, मुल्य अभिबृद्धि कर र अन्तशुल्कमा दर्ता भएका पर्वतका उद्योगी, व्यावसायी र अन्य करदातालाई कर सम्वन्धि शिक्षा प्रदान गरिएको छ ।
पर्वत उद्योग बाणिज्य संघको संयोजन र आन्तरिक राजश्व कार्यालय बागलुङ तथा करदाता सेवा कार्यालय पर्वतको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कर सम्वन्धि शिक्षा प्रदान गरिएको हो ।
नियमितजसो आफ्नो व्यावसायको कर तिर्दै आएका उद्योगी, व्यावसायीलाई आर्थिक विधेयक २०८१ ले गरेका केहि विशेष छुट, तथा सहुलियतहरुको बारेमा जानकारी दिने, आयकर ऐन २०५८ मा भएको संशोधन लगायतका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा आर्थिक विधेयक २०८१ पछि बनाईको बिजकको ढाँचा सँगै करदातालाई कर दाखिला र कर चुक्ता लिनका लागि विद्युतीय माध्यमको प्रयोगका बारेमा पनि प्रस्तुती राखिएको थियो । कर तिर्नु नागरिक वा उद्योगी, व्यावसायीको अनिवार्य दायित्व हो । कसैलाई पनि कर छलि गर्ने वा नतिर्ने अधिकार छैन भन्दै आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तबले आफ्नो आयव्ययलाई चुस्त दुरुस्त राखेमा कसैलाई पनि समस्या नपर्ने बताउनुभयो । उहाँले कर छलि गरेर भविष्यमा समस्यामा नपर्न आग्रह गर्दै समस्या परेमा आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयसँग समयमै परामर्श गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा करदाता सेवा कार्यालय पर्वतका प्रमुख शान्ति पौडेलले उद्योग, व्यावसाय वा अन्य रोजगारदाताले पान नं. मुल्य अभिबृद्धि कर वा अन्तशुल्कमा दर्ता गर्ने प्रकृया, राजश्व भुक्तानी तथा लेखा परिक्षणलाई व्यवस्थित गर्ने बारेमा प्रस्तुती राख्नुभएको थियो । करदाताहरुका लागि आवश्यक कारबाही र जरिवानाका बारेमा पनि जानकारी दिनुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय बागलुङका कम्प्युटर अपरेटर कृष्णबहादुर खत्रीले विद्युतिय माध्यमवाट राजश्व भुक्तानी तथा कर चुक्ता लिन स्वयं करदाता कार्यालयसम्म जानु नपर्ने र विभिन्न एप्स र बैंकवाट पनि भुक्तानी गर्न सकिने बारेमा प्रस्तुती राख्नुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहनुभएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले करदाताले राज्यले तोके बमोजिम आफुले गरेको आम्दानीको निश्चित प्रतिशत राज्यलाई भुक्तानी गर्नु अनिवार्य दायित्व हुने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गर्नुभयो । उहाँले समस्या परेका विषयहरुमा सम्वन्धित कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्न उद्योगी, व्यवासायीलाई आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष केदारनाथ शर्मा लगायत विभिन्न उद्योगी, व्यावसायीहरुले समसामयिक विषयमा आफ्ना जिज्ञासा तथा सुझावहरु राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिब खडकप्रसाद खनाल र धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष कमल जिसीले राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!