दलहरुबीचको सहमतिमा बजेट संसदवाटै आउँछ ः मन्त्री गिरी - News site from Nepal
दलहरुबीचको सहमतिमा बजेट संसदवाटै आउँछ ः मन्त्री गिरी
पर्वत, १२ जेठ ः  कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षको बजेट संसदवाटै प्रस्तुत हुने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले नियमित संसद अवरुद्ध गरेपछि अध्यादेश मार्फत बजेट सार्वजनिक हुने चर्चा चलिरहेका बेला गृहजिल्ला पर्वत आउनुभएका मन्त्री  गिरीले दलहरुबीचकै सहमतिमा बजेट सार्वजनिक हुने दावी गर्नुभयो । नेपाल पत्रकार महासंघ पर्वत शाखाले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरीले जेठ १५ आउन धेरै दिन बाँकी नरहेकाले दलहरुबीच सहमति जुटाउन निरन्तर प्रयास भैरहेको उहाँको भनाई छ । सहकारी छानविन संसदीय समिति अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभएको छ ।
मन्त्री गिरीले भोलीको संसद बैठक अघिनै सहमति गराएर संसदवाट नीति तथा कार्यक्रम माथिको छलफल पारित गरिने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारीमा सरकार जुटेको बताउनुभयो । उहाँले सरकार संसदलाई छलेर अध्यादेशवाट बजेट ल्याउने पक्षमा नरहेको दोहोर्‍याउनुभयो । ‘जेठ १५ गते जसरीपनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षि दलले पनि सहयोग गर्नुपर्दछ ।’ बजेट आउन सकेन भने मुलुक अप्ठ्यारो अवस्थामा पुग्ने उहाँको भनाई छ । प्रमुख प्रतिपक्षि दल काँग्रेसले सदननै चल्न दिएन भने सरकारले अर्को बिकल्प सोच्न सक्ने उहाँले बताउनुभयो
मन्त्री गिरीले कार्यादेश सहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षि दलको अडानका कारण ढिलाई भएको भन्दै अब भने दुवै पक्ष लचक भएर टुंगोमा पुग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भोलिदेखि संसदका कामकारबाही नियमित अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको हो । संकटग्रस्त सहकारीको छानबिन गरी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष पनि सकारात्मक रहेको उहाँले बताउनुभयो ।
उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षि दल आफ्ना अडानवाट पछि हटिसकेको भन्दै रकम अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताउनुभयो । उपप्रधान तथा गृहमन्त्री दोषि हो वा होईन भन्ने कुरा छानविन पछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम इङ्गित गरेर जाँदा भविष्यमा गलत नजिरको विकास हुने बताउनुभयो ।
मन्त्री गिरीले प्रति टिआरसी विधेयक छिटै टुंगोमा पुग्ने दावी गर्नुभयो । नेकपा एमाले सरकारमा हुँदा पनि प्रतिपक्षमा हुँदापनि पिडितमैत्री बनाउनुपर्छ भन्दै आएको बताउँदै  पिडितको पक्षमा हुनेगरी सहमति हुने बताउनुभयो । ‘यसमा सवै राजनीतिक दलहरु सहमतिको नजिक हुनुहुन्छ, बाँकी रहेका एक/दुईवटा कुरामा छलफल गरेपछि सहमतिमा पुग्छौ’ मन्त्री गिरले भन्नुभयो ।
प्रमुख प्रतिपक्षि दलको अवरोधका कारण संसद सहज ढंगले चल्न नसक्दा दर्जनौ विधेयकहरु पारित हुन नसकेको बताउनुभयो । संसदमा अड्किएका विधेयकहरु पारित हुन नसक्दा स्थानीय र प्रदेश सरकारलाई काम गर्न कठिनाई पर्दै आएको उहाँले बताउनुभयो ।
मन्त्री गिरीले आगामी आर्थिक वर्षको बजेटपछि मुलुकले विकासको थप गति लिने दावी गर्नुभयो । अघिल्ला सरकारले ल्याएको अहिलेको बजेटले कुनैपनि काम हुन नसकेको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा थुप्रै विषयवस्तु समेटिएको उहाँको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!