पर्वत एमालेको सपथ ग्रहण र प्रशिक्षण कार्यक्रम सम्पन्न - News site from Nepal
पर्वत एमालेको सपथ ग्रहण र प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गत चैत ३० गते सम्पन्न भएको अधिवेशनवाट निर्वाचित अध्यक्ष बाहेक पदाधिकारी, सदस्य र लेखा आयोगका सदस्यहरुलाई सपथग्रहण गराईएको हो । सो अवसरमा निर्वाचित सवैजनालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माले यो मुलुकको विकास र परिवर्तनका लागि नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो । नेकपा एमालेले मात्र मुलुकको परिवर्तन गर्न सक्ने बताउँदै उहाँले मिसन २०८४ लाई सफल बनाउनका लागि नेता कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो ।
मिसन २०८४ मा नेकपा एमालेको एकल बहुमत ल्याउनका लागि अहिले सघन ढंगले लागेको बताउँदै एमालेको नेतृत्वविना जनताका आशा अपेक्षा पनि पुरा हुन नसक्ने बताउनुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई सवैलाई समेटेर पार्टीका गतिविधि सक्रिय बनाउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, नेपाल उत्पिडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि पौडेल लगायतले बोल्नुभएको थियो ।
नेकपा एमाले पर्वतका अध्यक्ष गाेबिन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नवनिर्वाचित उपाध्यक्ष विमल लामिछाने र संचालन सचिब सुवास पौडेलले गर्नुभएको थियो ।


एमाले पर्वतले पहिलोपटक मञ्चमा तीन जना मात्र बक्ता राखेर खादा मालाको प्रयोग नगरिकनै कार्यक्रम गरेको हो । जहाँ हरेक वक्ताले छुट्टाछुट्टै विषयमा सम्वोधन गरेका थिए । यस पटकदेखि केन्द्रीय सर्कुलर अनुसारनै कार्यक्रमको ढाँचा बदलिएको जिल्ला अध्यक्ष पहाडीले बताउनुभयो ।
नेकपा एमाले पर्वतको पहिलो वैठक पनि सम्पन्न भएको छ । वैठकले निर्वाचन सम्पन्न गर्न सवै पक्षवाट सहयोग गर्नेलाई धन्यवाद ज्ञापन, नयाँ कार्यसमितिकिो खाता संचालन, सदस्यता नविकरण र आगामी वैठकबारे विभिन्न निणर्य गरेको छ ।
सपथ ग्रहण कार्यक्रममा निर्वाचनमा पराजित भएको समुह भने सहभागि भएको थिएन । दशौ महाधिवेशनको नेतृत्वका लागि निर्वाचन भएको थियो । निर्वाचनमा उम्मेदवार बनेका पदमपाणी शर्मा समुहका नेता कार्यकर्तादेखि उहाँलाई समर्थन गर्ने केन्द्रिय, प्रदेश र जिल्ला तहका नेताहरु समेत अनुपस्थित रहेका थिए ।
सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्न महासचिब शंकर पोखरेल आउने तयारी भएपनि मौसम खरावीले आउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!