लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतका साढे आठ हजार बालबालिकालाई आजदेखि दादुरा रुबेलाको खोप लगाईदै - News site from Nepal

पर्वत – पर्वतका साढे आठ हजार भन्दा बढी बालबालिकाहरूलाई आजदेखि दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२ जना बालबालिकाहरूलाई दुई चरणमा गरेर खोप अभियान सञ्चालन गर्न लागिएको हो । जसमा मोदी गाउँपालिकाका एक हजार दुई सय ४७ जना, जलजला गाउँपालिकाका एक हजार तीन सय २९ जना, कुश्मा नगरपालिकाका दुई हजार तीन सय २६ जना, फलेवास नगरपालिकाका एक हजार तीन सय आठ जना, महाशिला गाउँपालिकाका पाँच सय ७१ जना, बिहादी गाउँपालिकाका नौ सय ७५ जना र पैयुँ गाउँपालिकाका आठ सय ५६ जना रहेका छन् ।

ती बालबालिकाहरूलाई खोप लगाउनको लागि मोदीमा ३२ वटा, जलजलामा ३६ वटा, कुश्मामा ५४ वटा, फलेवासमा ४२ वटा, महाशिलामा २४ वटा, बिहादीमा २३ वटा र पैयुँमा २७ वटा केन्द्रहरू राखिने छन् ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्सालले जिल्लाको दक्षिण क्षेत्रमा पहिलो र उत्तरी क्षेत्रमा दोस्रो चरणमा खोप अभियान चलाइने बताउनुभयो । उहाँका अनुसार आजदेखि १७ गतेसम्म फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका बालबालिकाहरूलाई खोप लगाइने छ भने दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकामा खोप अभियान चल्ने छ ।

खोपका लागि आवश्यक चिस्यान सहितको व्यवस्थापन गर्दै पालिका अनुसार आवश्यक पर्ने ‘डोज’ को परिमाण वितरण गरिसकिएको लम्सालले बताउनुभयो । नियमित रूपमा लगाउनुपर्ने खोपहरू डिपिटी हेप बी हिब, पिसिभी र आइपिभी खोपहरू छुटेका बालबालिकाहरू पाइएमा उनीहरूलाई ती खोपहरू पनि यही अभियानमा दिइने भएको छ । ‘हामीले खोप अभियानको लागि सबै तयारीहरू पूरा गरेका छौँ ।

गण्डकी प्रदेशमा दादुरा-रुबेलाको संक्रमण नदेखिएको भनेर चर्चा भइरहेको बेलामा गत माघमा तनहुँमा यसको संक्रमण देखिनुले सबै जना सचेत हुनुपर्ने बेला आएको उहाँको भनाई छ । एक जनाबाट १८ जनासम्ममा रोग सर्न सक्ने भएकोले खोप लगाउने कुरामा कसैले पनि हिचकिचाउन नहुने लम्सालले बताउनुभयो ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले खोप लगाएपछि खोप ‘रियाक्सन’ को रूपमा केही लक्षण देखिन सक्ने डरले कतिपय खोपबाट भाग्ने गरेको अवस्थाबारे जानकारी गराउँदै उहाँले एकछिनको ‘रियाक्सन’ को डरमा शरीरलाई नै खतरामा पार्ने काम नगर्न सम्बन्धी सबैमा अनुरोध गर्नुभयो ।

खोप लगाएपछि सामान्य रूपमा खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, ज्वरो आउन सक्ने, जोर्नीको दुखाई हुन सक्ने, डाबर देखिने र यसमा आत्तिनु नपर्ने चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!