पर्वत ११ चैत ः उद्योगी व्यावसायीहरुको साझा संस्था पर्वत उद्योग बाणिज्य संघको १८ औ अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले ठाकुर. वि पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । पौडेल यस अघिको कार्यसमितिमा बरिष्ठ उपाध्याक्षको जिम्मेवारीमा रहनुभएको थियो । सामाजिक रुपमा सक्रिय पौडेल विगत डेढ दशक देखि संघमा सक्रिय रहँदै आउनुभएको थियो ।
समितिको महिला सदस्यमा देवी अधिकारी र अनिता सापकोटा निर्वाचित हुनुभएको छ भने अन्य सदस्यमा कमलवहादुर जिसी, रमेश शर्मा लामिछाने, नारायणप्रसाद पौडेल, शेरवहादुर चोचाङ्गी, राजन गुरुङ, ढाकाराम सापकोटा, कमल शर्मा लामिछाने, विश्वराज श्रेष्ठ, नारायण पौडेल, प्रदिप तिमिल्सिना, ज्ञानेन्द्र कुमार जोशी, गणेश लामिछाने, कुमवहादुर गर्बुजा, खड्गप्रसाद खनाल, भिमवहादुर नेपाली, बिमल अधिकारी, कृष्णप्रसाद शर्मा, लक्ष्मण शर्मा र शैलेन्द्रकुमार कर्माचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिलिपराज शर्माले जानकारी दिनुभयो ।
समितिको पहिलो बैठकले पदाधिकारी सहित समिति विस्तार गर्ने जनाएको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको प्रति चिन्ता व्यक्त गदै व्यावसायीहरुको हक हितका निम्ति सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो ३ बर्षिय कार्यकालमा कार्ययोजना सहित व्यवसायीहरुको हितमा काम गर्ने बताउनुभयो । अध्यक्षमा चयन भए लगत्तै पौडेलले सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।
विगतका वर्षहरुमा निर्वाचन प्रकृयामार्फत प्रतिस्पर्धा गरेर नेतृत्व निर्वाचित हुने गरेको भएपनि यसपटक भने राजनीतिक दलहरुको सहमति र भागबण्डामा सर्वसम्मत चयन गरिएको हो । जस अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको हो ।
भागबण्डा अनुसार एमालेले अध्यक्ष र सचिब सहित नेतृत्व गर्ने भएको छ । काँग्रेसले उपाध्याक्ष/कोषाध्याक्ष सहित सदस्य, माओवादीले उपाध्याक्ष/महासचिव सहित सदस्य र अन्यलाई दललाई ४ सदस्य प्रदान गर्ने गरि सहमती भएको थियो ।






