पर्वत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम आगामी बिहीवार गरिने भएको छ ।
गत चैत ३० गते सम्पन्न भएको अधिवेशनवाट निर्वाचित पदाधिकारी, सदस्य लगायतको सपथग्रहण भएको थिएन । बिहीवार विशेष समारोह सहित सपथ ग्रहण र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नवनिर्वाचित उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार वैशाख १३ गते कुश्माको होटल बन्दनाको सभाहलमा दिउँसो ११ बजेपछि कार्यक्रम संचालन हुने भएको छ । एक दिने प्रशिक्षण सहितको कार्यक्रमलाई सम्वोधन गर्न नेकपा एमालेका महासचिब शंकर पोखरेल आउनुहुने भएको छ ।
यस अघि अधिवेशन उद्घाटन गर्नका लागि पोखरेल आउने चर्चा चलेपनि पछि उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा महासचिब पोखरेल लगायत केन्द्रीय तहका नेताहरुले समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
पर्वत एमालेको दशौ जिल्ला अधिवेशनले गोविन्द पहाडीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । दुई प्यानल बनाएर चुनावी प्रकृया मार्फत नेतृत्व चयन भएको हो । जसमा गोविन्द पहाडीको समुहले पदमपाणी शर्माको समुहलाई क्लीनस्वीप गरेको थियो ।






