पर्वत ११ फागुन ः पर्वतको शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि डोजर लगाएर भत्काईएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी- रातडाँडा-पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगार्र्ईएको मेशिनरी पर्खालमा सिमेन्ट बालुवाको मसला नराखी ढुंगामात्रै चिनेर बनाईएको गुनासो आएपछि पुगेको अनुगमन टोलीले डोजर लगाएर भत्काईदिएको हो । २५ मिटर लामो पर्खाल पुणर् रुपमा डोजरले भत्काएर पुनः निर्माण गर्न लगाईएको छ । त्यस्तै सडकका विभिन्न भागमा भरिएको ग्यावियन जाली समेत भत्काउन लगाईएको छ ।
पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारी, फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, इन्जिनियर जीता गिरी सहित पत्रकारहरुको टोली बिहीवार विहान अनुगमनका लागि पुगेको थियो । अनुगमनको क्रममा मसला नराखिकन पर्खाल चिनिएको, मसिना ढुंगा राखेर ग्यावियन जाली भरिएको पाईएपछि पुरै भत्काएर पुनः निर्माण गर्न लगाईएको इन्जिनियर जीता गिरीले जानकारी दिए ।

इन्जिनियर गिरीले ठेकेदारले कार्यालयसँग समन्वय समेत नगरी काम गरेको बताए । कार्यालयलाई जानकारी समेत नदिई गुणस्तरहिन काम गरेको पाईएको भन्दै यस्ता ठेकेदारलाई आवश्यक कारबाहीको दायरा ल्याईनुका साथै मापदण्ड अनुसार काम नभएमा भुक्तानी समेत रोकिने बताए ।
ठेकेदारको लापरबाहीका कारण मापदण्ड विपरित संरचना निर्माण भएपछि स्थानीयवासीले समेत गुनासो गरेका थिए । एक बोरा सिमन्ट बराबर ८ बोरा भन्दा बढि बालुवा राखेर मसला बनाईएका कारण पर्खाल कमजोर भएको गुनासो बढेपछि अनुगमन टोली पुगेको थियो । जुनसुकै पुर्वाधारका काम पनि तोकिएको मापदण्ड र गुणस्तर अनुसार हुनुपर्ने पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताए । मापदण्ड विपरित गरिएको कामको कार्यालयले भुक्तानी समेत नदिने र आगामी दिनमा त्यस्ता ठेकेदारलाई योजनाहरु निर्माणको जिम्मा समेत नदिईने उहाँले बताउनुभयो । उक्त सडक कार्यालयका प्राविधिकहरुको नियमित अनुगमनमा तोकिएको मापदण्ड अनुसार पुर्ननिर्माण गरिने उनको भनाई रहेको छ ।
पुर्वाधार विकास कार्यालयमार्फत भ्याट बाहेक रु.१९ लाख रुपैयाको लागतमा सडक स्तरोन्नतीको काम भैरहेको छ । सडक निर्माणको जिम्मा माई कन्ट्रक्सन प्रालिले लिएको छ । गत पुसमा सम्झौता भएको सडक स्तरोन्नतीको कार्र्य आगामी असार १५ गते सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । सडमा मेशिनरी पर्खाल, ग्यावियन जाली भर्ने, नाली निर्माण, कटिङ लगायतका कामहरु गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले नगरको भित्रको योजनाका बारेमा आफुहरु बेखबर रहेको बताईन । प्रदेशवाट परेको यो योजना नगरको जानकारी विनानै कार्यान्वयनमा आएकाले समस्या भएको भन्दै गुणस्तरहीन काम भएकोलाई कारबाही गरिनुपर्ने बताईन । नगरभित्र हुने जुनसुकै विकास निर्माणका काममा समन्वय गर्न उनले आग्रह गरिन
माई कन्ट्रक्सन प्रालिका प्रमुख धनबहादुर थापाले आफु नभएको बेला मजदुरहरुले गुणस्तरहीन काम गरेको आरोप लगाए । उनले मापदण्ड नपुगेका ठाउँमा पुरै भत्काएर पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाए । आफुले बालुवा सिमेन्टको पर्याप्त मात्रा राखेर गुणस्तरीय काम गर्न भनेको भएपनि मजदुरहरुले कमजोरी गरेकाले भत्काएर कार्यालयको मापदण्ड अनुसारनै बनाउने थापाले बताए ।






