पर्वत, ७ पुस : पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतीको काम शुरु भएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ रतीखोलादेखि वडा नं. ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नती गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यो रतीखोला-दराक-चित्रे-गँगटे सडक स्तरोन्नतीका लागि ४२ करोड रुपैयामा सम्झौता भएको थियो ।
सडक स्तरोन्नती तथा कालोपत्र सहित ३० महिनामा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको हो । सडक निर्माणको जिम्मा ओएशिस इन्जिनियरिङ्ग बिल्डर्स, पुर्ण लक्ष्मी प्रालि जेभिले पाएको छ ।
उक्त सडक अन्तर्गत दुई खण्डमा विभाजन गरेर धमाधम निर्माण कार्य थालिएको निर्माण कम्पनीका साईड इन्चार्ज लाक्पा तामाङले जानकारी दिए । उनका अनुसार अहिले ९० जना मजदुर र पर्याप्त यन्त्र उपकरण परिचालन गरेर द्रुत गतिमा काम भैरहेको छ । सडक मापदण्ड अनुसार चक्ल्याउने, ग्यावियन जालि भर्ने, नाली तथा टेवा पर्खाल निर्माण जस्ता कामहरु भैरहेको तामाङको भनाई छ ।
सडक निर्माणको लागि ढुंगाको भने समस्या रहेको छ । स्थानीय रतीखोलावाट पर्याप्त मात्रामा ढुंगा निकाल्न नपाउँदा कामको गति बढाउन समस्या भएको उहाँको भनाई छ । गाउँपालिका र स्थानीय वासीसँग सहमति गरेर खोलाको ढुंगा प्रयोगमा ल्याउने तयारी भैरहेको छ । निर्माण सामाग्रीको पर्याप्तता र अन्य कुनै अवरोध नभएमा अबको २५ महिनामै सडक कालोपत्र गरिसक्ने दावी निर्माण कम्पनिको रहेको छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
सडक खण्ड अन्तर्गत आठ किलोमिटरमा ग्यावियन जाली भर्ने र अन्य पुर्वाधारको काम भैरहेको छ भने तीन किलोमिटर कटिङ्ग गरिसकिएको छ । गत असारमा पुर्वाधार विकास कार्यालय पर्वत सँग निर्माणको सम्झौता भएपनि वर्षायाम रोकिएपछि मात्र काम शुरु भएको थियो ।
सडक स्तरोन्नती नहूँदा गण्डकी प्रदेशमै प्रख्यात चित्रे होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै स्थानीयहरुले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए । यहाँका बासिन्दा छिमेकी वडा राम्जादेउराली, आर्थरडाँडाखर्क हुँदै सदरमुकाम र डिमुवा बजारमा आउन बाध्य भएका थिए । अब भने मोदी गाउँपालिकाको केन्द्र रहेको मध्यपहाडी लोकमार्गमा जोडिने पातीचौर सम्म सिधा सडक सम्पर्कले जोडिने स्थानीय होमस्टे व्यावसायि शुशिलादेवी गुरुङले बताईन । स्थानीयवासीका साथै होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
विगत दुई दशकदेखि यहाँ व्यावसायिक रुपमा होमस्टे संचालनमा रहेको छ । यहाँका एक दर्जन भन्दा बढि घरमा होमस्टे संचालन छ । दैनिक एक सय जना भन्दा बढि पर्यटकहरु राख्न सकिने क्षमता रहेको चित्रेमा नेपालका विभिन्न जिल्लावाट पर्यटकहरु आउने गरेका छन् । सिजनको बेला दैनिकजसो पर्यटकले भरिभराउहुने गरेको मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बताए । यो गुरुङ समुदायको बाहुल्यता रहेको गाउँ समेत हो ।
यसैबीच निर्माणाधिन उक्त सडक पर्वतवाट निर्वाचित संघीय सांसद तथा पुर्व मन्त्री पदम गिरीले अनुगमन गरेका छन् । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यावसायी र सम्वन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आई लागेमा आवश्यक समन्वय गर्न समेत सुझाव दिए ।






