
पर्वत – पर्वतको कुश्मा नगरपालिकाका ३ वटा वडामा सञ्चालित वास फिट परियोजनाले तीन स्वास्थ्य संस्थालाई बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट समूदायमा हस्तान्तरण गरेको छ ।
कुश्मा नगरपालिका १ पाङ स्थित कुश्मा शहरी स्वास्थ्य केन्द्र, कुश्मा नगरपालिका २ खुर्कोट स्थित खुर्कोट स्वास्थ्यचौकी र कुश्मा नगरपालिका ३ दुर्लुङ स्थित दुर्लुङ स्वास्थ्यचौकीमा उक्त बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट बनाएर हस्तान्तरण गरिएको हो ।
कुश्मा नगरपालिका र गुड नेवर्स इण्टरनेशल नेपालको आर्थिक सहयोगमा नवचेतना सामूदायिक विकास केन्द्रको आयोजनामा स्वास्थ्य संस्था सुधारका लागि यो परियोजना सञ्चालनमा रहेको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई गुड नेवर्स इण्टरनेशनका प्रवन्ध निर्देशक प्रकाश पाण्डेले परियोजना हस्तान्तरण गर्नुभयो । साथै उक्त अवसरमा सामाजिक परिक्षण र बजेटको बारेमा जानकारी दिईएको थियो ।
प्रमुख अतिथी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले यो परियोजनाले समूदायमा स्वास्थ्यप्रतिको धारणामा परिवर्तन ल्याईदिएको बताउनुभयो । जोशीले स्वास्थ्य संस्थामा पानीको अभाव भएमा त्यसले गुणस्तरीय सेवा दिएको भन्न नसकिने भएकाले तीन स्वास्थ्य चौकीमा अहिले पानीको उचित व्यवस्थापन भएको बताउनुभयो । परियोजनाको दिगोपनका लागि नगरपालिका संधै सकारात्मक रुपमा सहयोग गर्न तयार रहेको जोशीले बताउनुभयो ।
कार्यक्रममा गुड नेवर्स इण्टरनेशनका प्रवन्ध निर्देशक प्रकाश पाण्डे, जनस्वास्थ्य प्रवन्धक रामनरेश यादव, कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले पनि बोल्नुभएको थियो । कार्यक्रम नवचेतना सामूदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास पौडेलको अध्यक्षता, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माको स्वागत र नवचेतना सामूदायिक विकास केन्द्रका सचिव चन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।