श्रमदानवाटै आकर्षक पर्यटकीय पार्क बनाउँदै कुश्मेलीहरु - News site from Nepal

पर्वत ६ पुस ः पछिल्ला केहि वर्ष यता पर्वत सदरमुकाम कुश्माबजार शाहसिक पर्यटकको प्रमुख गन्तब्यको रुपमा विकास हुँदै गएको छ ।

नेपालकै अग्ला र लामा पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईन जस्ता पुर्वाधारले पर्यटकहरुको आकर्षण बढ्दै गएका बेला कुश्माबजारवासीहरु अर्को आकर्षक पार्क निर्माण गर्न श्रमदानमा जुटिरहेका छन् । समथर भुभागमा अवस्थित कुश्मा नगरपालिका वडा नंं. ५ मा रहेको वडागाउँ सामुदायिक वनमा पार्क निर्माण गर्न थालिएको हो ।

सदरमुकाममा साढे तीन दशक अघिदेखि सक्रिय पर्वत मिलन क्लवमा आवद्ध युवाहरुको अगुवाईमा पार्क निर्माणका लागि दैनिक सयौको संख्यामा बजारवासीहरु श्रमदान गर्न पुग्ने गरेका छन् । सल्ला र चिलाउनेको घना जंगलभित्र पर्यटकहरुलाई घुम्न, ब्यायाम गर्न, योग तथा ध्यान गर्न र तनाव मुक्त गर्ने खालका संरचना निर्माण गर्नुका साथै आकर्षक बनभोज स्थल निर्माण गर्न थालिएको पर्वत मिलन क्लवका अध्यक्ष झलक कार्कीले जानकारी दिनुभयो ।

क्लवको ३५ औं स्थापना दिवसको अवसरमा जनश्रमदान गरी पार्क निर्माण गर्ने अभियान अन्तर्गत बजारका सवै नागरिकहरु एकजुट भएर लागेका हुन् । क्लवका अध्यक्ष झलक कार्कीेले बढ्दो शहरीकरणले मानिसहरु एकान्त र खुल्ला ठाउँमा बस्न, घुम्न र डुल्न मन पराउन थालेको अवस्थालाई मध्यनजर गर्दै बजार नजिकै रहेको घना जंगललाई व्यवस्थापन गरेर पार्क निर्माण गर्न थालिएको जानकारी दिनुभयो ।

कार्कीका अनुसार श्रमदानवाट बनाउन नसकिने संरचनाहरु स्थानीय कुश्मा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक बजेट माग गरेर निर्माण गर्नेगरी योजना डिजाईन, इस्टिमेट तयार गर्न थालिएको छ ।

कुनै समय सदरमुकामवासीहरुको गौरचणको रुपमा रहेको ठाउँ अहिले घना जंगल बनेको छ । झाडीका कारण मानिसहरु वनको बिचबाट हिँड्न पनि डराउने अवस्था रहेको थियो । अहिले उक्त झाडी फाँडेर खुल्ला र सफा बनाईएको छ भने बनभोज स्थल समेत बनाईसकिएको कार्कीले बताउनुभयो । विगत तीन सातादेखि जंगल सरसफाई गर्ने र अन्य संरचनाहरु निर्माण गर्ने कार्य भैरहेको उहाँको भनाई छ ।

पार्क निर्माणका लागि सदस्य रमेश कुमार श्रेष्ठको संयोजकत्वमा मिलन सल्लाघारी पार्क निर्माण समिति गठन गरेर निर्माणलाई तीब्रता दिएको छ । जसमा बजारका सवै संघ संस्थाहरुको साथ र सहयोग रहेको संयोजक श्रेष्ठले बताउनुभयो । यसलाई बृहद गुरुयोजना बनाएर जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनाउनेगरी अघि बढेको उहाँको भनाई छ ।

पार्क निर्माणका लागि भैरहेको श्रमदान अवलोकन गर्न पुग्नुभएका पुर्व मन्त्री तथा सांसद पदम गिरीले दिर्घकालीन योजना निर्माण गरेर बजेट माग गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटकीय क्ष्ोत्र निर्माणका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सामुदायिक वन भएकाले डिभिजजन वन कार्यालयसँग आवशयक समन्वय र परामर्श गरेर अघि बढिरहेको क्लवले जनाएको छ । श्रमदानका लागि पुग्नुभएका एमाले जिल्ला सचिब सुवासचन्द्र पौडेलले पर्यावरण र प्राकृतिक स्वरुप नबिग्रिने गरी संरचनाहरु बनाउँदा थप आकर्षण बढ्ने सुझाव दिनुभयो । उहाँले कालीगण्डकीमा रहेका शिलाहरुलाई पार्कमा ल्याउने र नेपालका सवै धार्मिक स्थलहरुको नामकरण गरेर राख्न सकिने, परम्परागत ढुंगे पर्खाल र वाटो बनाउन सकिने जस्ता कुराहरुालई अबलम्वन गर्न सुझाव दिनुभयो ।

पार्क निर्माण समितिका संयोजक श्रेष्ठका अनुसार सामुदायिक वनको कुल क्षेत्रफलमध्ये करीब दुई सय रोपनी जग्गाको झाडी सफा गर्ने तयारी छ । झाडी सफा गरेसँगै ठुला ठुला रुखहरुमा रंगरोगन समित गरिएको छ । पार्क निर्माण स्थलमा खानेपानीको व्यवस्था गरिएको छ भने सदस्यहरुको आफ्नो व्यक्तिगत, स्थानीय सरकार र सरोकारवाला सवै पक्षको आर्थिक र भौतिक सहयोगबाट आफ्नो वृहत उद्देश्य पूरा गर्ने लक्ष्य लिएको सोही क्लवका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । यसले कुश्मामा आउने पर्यटकको बसाई लम्व्याउने उहाँको विश्वास छ ।

वडागाउँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मानकुमारी गिरीले युवाहरुले सामुदायिक वनमा जनश्रमदान गरी पार्क निर्माण गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो । पार्क निर्माणस्थलसँगै तीनवटा अग्ला र लामा झोलुङ्गे पुल पर्दछन् । एकातिर कालीगण्डकी नदी माथि कुश्मा र बाग्लुङको कैया जोड्ने झोलुङ्गे पुल छ भने अर्को तिर जिल्लाको दक्षिणी भेग जाने मोदीखोला माथि बनेको कुश्मा र मुडिकुवा र कुश्मा-ज्ञादी जोड्ने अग्लो झोलुङ्गे पुल छन् । दैनिक सैयौंको संख्यामा झोलुङ्गे पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत पार्कले आकर्षण गर्ने स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!