पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन हेरालु नियुक्त गर्दै - News site from Nepal

पर्वत ६ चैत ः बाँदर आतंकले अन्नबाली सखाप बनाएपछि दक्षिण पर्वतको पैंयु गाउँपालिकाले बाँदर धपाउन हेरालु नियुक्त गर्ने भएको छ ।बाँदर लगायत बन्यजन्तुवाट बाली नाली लगायत मानव जीवनमा पार्ने असरको न्यूनिकरणका लागि हेरालु नियुक्त गर्न थालिएको हो ।

गाउँपालिकाका सातवटै वडामा अत्याधिक मात्रामा बाँदरको आतंक बढेपछि हेरालु हेरालु  नै नियुक्त गरेर बालीनाली जोगाउन थालिएको हो । पैंयुँ गाउँपालिकाको सोमवार सम्पन्न १३ औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु हेरालु  नियुक्त गर्ने निणर्य पारित गरेको प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेलाई यतिनै संख्यामा हेरालु  नियुक्त गर्ने भन्ने निणर्य नभएपनि न्यूनतम पाँच/पाँच जनाको दरले हेरालु  राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाको दरले ३५ जना हेरालु कर्मचारी नियुक्त गर्ने, उनिहरुलाई सेवा सुविधा के कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्धारण गर्ने रिमालले जानकारी दिनुभयो ।

बाँदरको आतंकका कारण खेतवारीमा लगाएको बालीनाली मात्र हैन घर भित्रै पसेर अन्नवाली, पकाएको खाना समेत सखाप पार्ने गरेको छ । केहि वर्ष अघिदेखि बाँदर नियन्त्रणका लागि सवै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरीका रुख कटानी अभियान समेत थालेको भएपनि नियन्त्रण हुन नसकेपछि हेरालो नै नियुक्त गरेर धपाउन थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । कर्मचारी नियुक्त भएपछि चौविसै घण्टा बालीनालीको रेखदेख गर्ने भएका छन् । जुन ठाउँमा बढि बाँदरले हैरानी दिएको छ ति ठाउँहरुमा कर्मचारीलाई बढि मात्रामा परिचालन गरिने उहाँको भनाई छ । उहाँका अनुसार बालीनाली उम्रने बेला र पाक्ने बेलामा हेरालुलाई परिचालन गरिने छ ।

बाँदर हेरालु कर्मचारी नियुक्त भएपछि बाँझै रहेको खेतीयोग्य जमिनमा समेत कृषकले बालीनाली लगाउने अपेक्षा गाउँपालिकाको छ । बाँदरकै आतंकका कारण तीन खेती हुने खेतवारीमा समेत स्थानीयले मुस्किलले धानवाली मात्र गर्छन भने हिउँदको समयमा बाँझै राख्ने गरेका छन् । बाँदर नियन्त्रण योजनाका लागि चालु आर्थिक वर्षमा पालिकाले रु. सात लाख रुपैया समेत बिनीयोजन गरेको छ ।

१३ औँ गाउँसभाले बाँदर नियन्त्रण सँगै राँगो पाल्ने किसानलाई जनही रु. २० हजार रुपैया अनुदान दिने निणर्य समेत गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैसी लोप हुँदै गएपछि राँगो पाल्न प्रेरित गर्ने उद्धेश्यले अनुदान दिने निणर्य गरेको अध्यक्ष ठकुरीले बताउनुभयो । यो कार्यक्रमले रैथाने जातका भैसी, राँगो र पाडापाडी पाल्न कृषकलाई प्रोत्साहन मिल्ने उहाँको विश्वास रहेको छ ।

यसैगरी नेपाल सरकारले कक्षा पाँच सम्म दिने दिवा खाजा कार्यक्रमलाई पैंयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निणर्य समेत गरेको छ । कक्षा ६ मा अध्ययन गर्ने बालबालिकाको उमेर पनि सानै हुने र विपन्न तथा गरिब समुदायका बालबालिका भोकभोकै कक्षामा बस्नुपर्ने अवस्था रहेकाले अहिलेलाई कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने निणर्य गरेको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका स्तरीय चिस्यान केन्द्र समेत संचालनमा ल्याउने निणर्य पनि पालिकाले गरेको छ । स्थापना भएर लामो समयदेखि अलपत्र बनेको चिस्यान केन्द्र पालिकाको लगानीमा संचालनमा ल्याउने निणर्य भएको उहाँले बताउनुभयो ।

त्यसैगरी कक्षा ८ को पालिका स्तरीय परिक्षालाई एसईई मोडलमा संचालन गर्ने निणर्य पनि पैंयुँले गरेको छ । अहिले सम्म सोहि विद्यालयमा हुँदै आएको कक्षा आठ को परिक्षालाई होम सेन्टर नरहने गरी परिक्षा केन्द्र तोकेर फरक फरक विद्यालयमा संचालन गरिने भएको छ । यसमा पर्यवेक्षक र सुपरिवेक्षक पनि फरक फरक विद्यालयका हुने प्रमुख प्रशासकिय अधिकृत रिमालले जानकारी दिनुभयो । यसले विद्यार्थीहरुलाई नयाँ सिकाई र एसईई परिक्षाका लागि समेत टेवा पुग्ने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!