पर्वत ५ चैत- नेकपा एमाले पर्वतले आफ्नो पार्टीवाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीचको सम्वन्ध बढाउने अभियान थालेको छ ।
जनप्रतिनिधि र पार्टीबीचको सम्वन्धलाई एकतावद्ध गर्दै पार्टीको निर्देशन, कार्यदिशा र नीति अनुसार परिणाम देखिनेगरी नागरिकको सेवामा लाग्नका लागि प्रेरित गर्ने उद्धेश्यले शनिवारदेखि यस्तो अभियान थालिएको हो । पहिलो कार्यक्रम पर्वतको जलजला गाउँपालिकावाट शुरु गरिएको हो ।
नेकपा एमालेका पुर्व पोलिटब्यूरो सदस्य रहनुभएका गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभाको कार्याकाल पुरा गरेर जिल्ला फर्केपछि यो अभियान उहाँकै सक्रियतामा थालिएको हो । जनप्रतिनिधि र पार्टीबीचको अन्तरक्रिया कार्यक्रम जिल्लाका सातवटै स्थानीय तहमा संचालन गरिने भएको छ ।

पार्टीवाट निर्वाचित हुने जनप्रतिनिधि र पार्टीबीच लामो समयपछि यस्तो खालको अन्तरक्रिया गर्न थालिएको हो । पार्टी र जनप्रतिनिधि बीच आवश्यक समन्वय र सहकार्य नहुँदा जनप्रतिनिधिहरुका गतिबिधि पार्टी हित विपरित हुने, पार्टीको एजेण्डा र मर्म अनुसार उनिहरुका कामकारबाही संचालन नहुने जस्ता समस्याले पार्टी कमजोर हुने भन्दै निर्वाचित जनप्रतिनिधिहरुसँग सम्वन्ध प्रगाढ बनाउन थालिएको नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै एमाले नेता गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेलाई मजबुत बनाउनका लागि जनप्रतिनिधिहरुले परिणाममुखि काम गर्नुपर्नेमा जोड दिनुभयो । एमालेको मुल मर्म र उद्धेश्य अनुसार जनप्रतिनिधिहरुले आफ्नो कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै यसका लागि आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले जनप्रतिनिधि र एमाले कार्यकर्ताबीच छलफल र अन्तरक्रिया गर्नु आवश्यक रहेको आफ्नो लामो समयदेखिको योजना अहिले शुरुवात गरेको भन्दै यसलाई सकारात्मक रुपमा लिन समेत आग्रह गर्नुभएको छ ।
तीनै तहका सरकारमा रहेका एमालेका जनप्रतिनिधिहरुलाई पार्टी हित विपरित गतिविधि गर्न छुट नरहेको उहाँको भनाई छ । भ्रष्टाचारको अन्त्य, नागरिकलाई सहज रुपमा सेवा प्रवाहसँगै मुलुकको समृद्धिका लागि पार्टीको सिद्धान्त र विचार अनुसार काम गर्न समेत उहाँले निर्देशन दिनुभएको छ ।
पर्वतको विकास र समृद्धिका लागि आफू राष्ट्रियसभाको अध्यक्ष हुँदा धेरै कामहरु गरेको स्मरण गराउँदै उहाँले कालिगण्डकी कोरिडोर योजनालाई पर्वतको मालढुङ्गा देखि जलजला हुँदै बेनी लैजान पहल गरेको,पर्वत बेनी संरक्षण योजना,बगरफाँट जोड्ने बेलिब्रिजको योजना लगायतका विकास निर्माणका कामहरुमा आफूले सक्दो पहल गरेको उहाँको भनाई थियो ।
पूर्व अध्यक्ष तिमिल्सीनाले प्राथमिकता निर्धारण गरेर प्रदेश तथा संघ सरकारसँग योजना र बजेट माग गर्नुपर्ने बताउनुभयो । अन्य पालिकाहरुको तुलनामा जलजलामा कम विकास भएको बताउँदै उहाँले आगमी दिनमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
शनिवारदेखि शुरु भएको अन्तरक्रिया अभियान आगामी शुक्रवार कुश्माबाट सकिने भएको छ । अन्तरक्रिया कार्यक्रम आइतवार मोदी गाउँपालिकामा र आज विहादी गाउँपालिकामा सकिएको छ । भोली ६ गते पैँयु गाउँपालिकामा, ७ गते महाशिला गाउँपालिका, ८ गते फलेवास नगरपालिका र ९ गते कुश्मा नगरपालिकामा सम्पन्न हुने नेकपा एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्माले जानकारी दिनुभयो ।
अन्तरक्रियामा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, गण्डकी प्रदेशका सांसद मित्रलाल बस्याल, भक्त कुँवर, एमाले जिल्ला कमिटि अध्यक्ष राजु पौडेल सहितका पदाधिकारी, प्रदेश कमिटि सदस्यहरु र सम्वन्धित पालिकाका पदाधिकारी र जनप्रतिनिधिहरु सँगै कार्यकर्ताहरुको सहभागिता रहेको छ ।






