पर्वत ५ चैत –लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिकाका सडक बत्तिको लाईन काटिएको छ ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिका अन्तर्गतका सवै सडक बत्ति सोमवार काटिदिएको हो । नगरपालिकाले २०७५ सालदेखि सडक बत्ति, नगरपालिका अन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य ईकाई जस्ता ठाउँको महसुल नबुझाएपछि लाईननै काट्नु परेको हो । नगरपालिका ग्राहक भएर जोडिएका सडक बत्ति लगायतको महसुल रकम पटक पटक माग गर्दा पनि भुक्तानी नपाएपछि लाईन नै काट्नुपर्ने बाध्यता भएको नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोबिन्द सुवेदीले जानकारी दिए ।
कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग पटक-पटक छलफल गरेर भुक्तानीका लागि ताकेता गरेपनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा बिजुली काट्न थालेको उहाँले बताए । जनप्रतिनिधि र नगरका कर्मचारी प्रशासनसँग छलफल गर्दा जनप्रतिनिधिहरु सकारात्मक भएपनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार नभएको सुवेदीले बताए ।
विद्युत प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्मा नगरपालिकाले रु. ७४ लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत प्राधिकरण बीच चारबर्ष अघि सडक बत्ति राख्ने सम्झौता भएको थियो । सम्झौताअनुसार सडक बत्तिबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ ।
कुश्मा नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८ र ९ तथा वडा नं. २ का केहि भागमा सडकबत्ति विस्तार गरिएको छ । झण्डै १ सय ५० भन्दा बढि ठाउँमा सडकवत्ती विस्तार गरिएको थियो । गत असोज १० गते सम्पन्न दशौँ नगर सभाले विद्युत महशुल भुक्तानीका लागि रु. ६५ लाख रुपैया बिनीयोजन गरेको भएपनि प्रमुख प्रशासकिय अधिृकत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप रहेको छ । प्राधिकरणले लाईन काटेका सडक बत्तिहरु बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले जानकारी दिए ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएका कारण महशुल भुक्तानी रोकिएको बताए । उनले अहिले आधार रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भैरहेको बताए । एक साता भित्र महशुल भुक्तानी गर्ने उनको भनाई छ ।
यति लामो समयसम्म बक्यौता रहेको रकम एक साता भित्र भुक्तानी गछौ लाईन नकाटिदिनुहोस् भनेर वितरण केन्द्र र नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पनि अनुरोध गरेको उनको भनाई छ । उनका अनुसार नगरकार्यपालिकाको कार्यालयको विद्युत महसुल रकम भने नियमित भुक्तानी भैरहेको छ ।






