पर्वत- पर्वतको कुश्मा नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि संक्रमण रोकथाम सम्बन्धि तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य संस्थामा हुन सक्ने विभिन्न संक्रमण लाई रोकेर सेवाग्राहीलाई गुणस्तरीय सेवा दिलाउने हेतुका साथ स्वास्थ्यकर्मी लाई तालिम दिन थालिएको हो । नवचेतना सामूदायिक विकास केन्द्रको आयोजना तथा कुश्मा नगरपालिका र गुड नेवर्स ईण्टरनेशनको आर्थिक एवं प्रविधि सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो ।
दुई चरणमा यो तालिम सञ्चालन हुनेछ । चैत्र १ र २ गते स्वास्थ्यचौकीमा कार्यरत सहयोगीका लागि सञ्चालन गरिएको छ भने चैत्र ३, ४ र ५ गते नर्सिङ कर्मचारीका लागि तालिम दिईने आयोजकले जनाएको छ । स्वास्थ्यचौकीमा प्रयोग हुने उपकरणको निर्मलीकरण, उपकरणको प्रसोधन, स्वास्थ्य संस्थाको निसंक्रमण, हातको सरसफाई, व्याक्तिगत सुरक्षा सामग्री, बाह्य परिजिवी बाट हुने संक्रमण, फोहोर व्यवस्थापन लगायतका बारेमा तालिममा सहजीकरण गरिने भएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तालिममा सहभागीलाई सामाग्री हस्तान्तरण गर्नुभयो । स्वास्थ्य संस्थामा चाहिने फोहोर फाल्ने वास्केट, सावुन, एप्रोन, डिटरजेण्ट, शौचालय सफा गर्ने हर्पिक लगायतका सामानहरु स्वास्थ्यकर्मीलाई वितरण गरिएको हो ।
नगर प्रमुख जोशीले यो तालिमले स्वास्थ्यचौकीको सेवा अझै प्रभावकारी बन्नेमा आशाबादी रहेको बताउनुभयो । स्वास्थ्यचौकीमा कार्यकत कर्मचारीहरु उचित ज्ञानको कारणले जोखिममा हुने र विरामीहरुलाई सामान्य खाले प्राविधिक कुरा नजान्दा जटिलता हुने भएकोले यो तालिमले स्वास्थ्यकर्मीहरुलाई सचेतना प्राप्त हुने कुरामा विश्वास रहेको बताउनुभयो ।
जोशीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभएको थियो । तालिमको सहजीकरण नर्सिङ अफिसर अन्जना पौडेलले गर्नुभएको छ ।






