आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै - News site from Nepal
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ –  प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरे ।

यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!