पर्वत, २८ मङ्सिर ः स्थापना कालदेखिनै भाडाको घरमा संचालन हुँदै आएको पर्वतको कुश्मा नगरपालिकाको आफ्नै प्रमुख प्रशासकीय भवन निर्माण शुरु भएको छ ।
झण्डै १४ करोडको लागतमा बन्ने भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बिहीवार शिलन्यास गर्नुभएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको तीन रोपनी ९ आना क्षेत्रफलमा भवन निर्माण सुरु गरिएको हो ।
गत भदौ ५ गते कुश्मा नगरपालिकासँग न्यु ड्रागन निर्माण सेवाले वि.सं. २०८३ फागनु ५ भित्र सम्पन्न गर्नेगरी निर्माणको सम्झौता गरेको छ । निर्माण कम्पनीले भने बिचमा कुनै समस्या नआए डेढबर्षभित्रै भवन बुझाउने दाबी गरेको छ ।
भवनको शिलन्यासपछि आयोजित कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीले प्रशासकीय भवनपछि नगरबासीलाई सेवा दिनका लागि सहयोग पुग्ने बताउनुभयो । जग्गा प्राप्ती र भवन निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिदै जोशीले लामो समयदेखि भवन निर्माण गर्ने आफ्नो प्रयास सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु, कर्मचारी तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

भवन निर्माण गर्ने जग्गा जिल्ला समन्वय समितिले उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुने पनि नगर प्रमुख जोशीले जानकारी दिनुभयो । यो सँगै पर्वतका सातवटै स्थानीय तहका भवन निर्माण शुरु भएका छन् । जिल्लाको पैुंयु, विहादी, मोदी आफ्नै स्थायी भवनमा संचालन भएका छन् भने महाशिला गाउँपालिका र फलेवास नगरपालिका सरकारी अस्थायी संरचनामा संचालन भएका छन् ।
महाशिला र जलजला र फलेवास नगरपालिकाको प्रशासकीय भवन पनि निर्माणको अन्तिम चरणमा पुगेका छन् । जलजला गाउँपालिकापनि अहिलेसम्म भाडाको घरमै संचालन हुँदै आएको छ ।






