पर्वत ३० फागुन ः जिल्लाबाटै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका बृद्धबृद्धाहरु हर्षित भएका छन् ।
पर्वतमा सक्रिय लायन्स क्लवहरुको संयुक्त आयोजनामा पहिलोपटक सदमुकाम कुश्माबजार स्थित जिल्ला अस्पतालमा मोतीयाबिन्दुको शल्यक्रिया शिविर संचालन भएको हो । फागुन २६ गतेदेखि शूरु भएको आँखा जाँच तथा मोतीयाबिन्दुको शल्यक्रिया सेवा बुधवार सकिएको छ । फागुन २६, २७ र २८ गते जिल्लाका विभिन्न स्थानमा आँखाका बिरामीहरुको परिक्षण तथा मोतीयाबिन्दुको पहिचान गरिएको थियो ।
परिक्षणका क्रममा ३९ जना मोतीयाबिन्दुका बिरामी भेटिएका थिए । सवै जनाको जिल्ला अस्पतालमै सफल शल्यक्रिया सम्पन्न भएको लायन्स क्लव अफ शिवालय कुश्माका अध्यक्ष मिनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर ३ सय ५० जना भन्दा बढिको आँखा परिक्षण गरिएको थियो । कतिपय बिरामीको दुवै आँखाको एकैपटक शल्यक्रिया समेत गरिएको थियो । सामान्य समस्या देखिएकाहरुलाई निःशुल्क औषधी र चश्मा समेत वितरण गरिएको थियो ।
शिविरमा हिमालय आँखा अस्पताल पोखरा र पर्वत अस्पतालको प्राविधिक सहयोग रहेको थियो । जिल्ला स्थित लायन्स क्लव अफ शिवालय कुश्मा, लायन्स क्लव अफ पर्वत मोदीकाली, लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र लायन्स क्लव अफ पर्वत कालीगण्डकीले संयुक्त रुपमा शिविर आयोजना गरेका थिए ।
पर्वतमा आँखाको सामान्य परिक्षण हुने भएपनि जटिल समस्या भएका र मोतीयाबिन्दु लागेका बिरामी भने उपचारका लागि पोखरा, काठमाण्डौ लगायतका शहरमा जानुपर्ने बाध्यता रहेको थियो । जिल्लामै शल्यक्रिया सहितको शिविर संचालन भएपछि लामो समयदेखि आँखाको रोग पालेर बसेका बृद्धबृद्धा तथा असहाय नागरिक लाभान्वित भएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
पर्वत अस्पतालमा यस अघि छाती सम्वन्धि विशेषज्ञ शिविर समेत संचालन गरिएको थियो । विभिन्न सामाजिक संघ संस्थाले अस्पतालसँगको सहकार्यमा नागरिकलाई प्रत्यक्ष लाभ हुने खालका स्वास्थ्य शिविरहरु संचालन गर्दा अस्पतालको विश्वसनियता र नागरिकहरुको आकर्षण समेत बढ्दै गएको अध्यक्ष गिरीले बताउनुभयो ।






