पर्वतको बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित - News site from Nepal
पर्वतको बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित

पर्वत, ३० जेठ । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याती कमाएको पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

परम्परागत र निर्वाहमुखि रुपमा आलुको खेती गर्दै आएका कृषक यस वर्षदेखि व्यावसायिक रुपमा खेत ीगर्न थालेका हुन् । कोदो, र आलुमात्र उत्पादन हुने बनौमा धान खेती .निकै कम हुन्छ । अहिले यहाँका आलु र कोदो खेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र पर्वतको खायन आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई विऊ र प्राविधिक सहयोग गरेपछि उनिहरु व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन् । अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ ।

बनौमा रहेका दुईवटा आलु उत्पादक समुहमा आवद्ध ७३ जना कृषकहरुले सामुहिक रुपमा आलु उत्पादन थालेका हुन् । विगतमा एक रोपनी क्षेत्रफलवाट कम्तिमा ५ मुरी आलु उत्पादन हुने गरेकोमा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समुहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लगाईएको चार सय रोपनी क्षेत्रफलवाट पहिले भन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।

समुहमा आवद्ध भएका कृषकले न्यूनतम रु. एक लाखदेखि रु. दश लाख रुपैया सम्म आलु विक्रि गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने कृषक पुर्जाले बताउनुभयो ।

चालु आर्थिक वर्षदेखि शुरु भएको खायन आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत यस वर्ष झण्डै २ हजार कृषकले व्यावसायिक रुपमा आलु खेती गरेका छन् । अहिले आलुवाली थन्क्याउने बेला भएकाले केहि दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्यांक आउने कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिृकत शंकर पौडेलले बताउनुभयो । उहाँका अनुसार प्राविधिक ज्ञानसँगै कृषकहरुले आधुनिक तरिकाले आलु खेती गर्न थालेपछि उत्पादन समेत बढेको छ भने कृषकहरु समेत उत्साहित भएका छन् ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रम अन्तर्गत हिउँदे सिजनमा गरिएको गरिएको आलु खेतीमा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यवासायिक रुपमा आलु खेती गरी आम्दानी गर्न सफल भएका छन् । वर्खे सिजनमा यसको आधा संख्यामा कृषकहरुले आलुखेती लगाएका छन् ।

किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको हो । आलु प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा रु. तीन करोड बिनीयोजन भएको थियो । उक्त बजेटवाट कृषकलाई आलुको विऊ, मल, यान्त्रिकरण तथा बजारीकरणमा अनुदान उपलव्ध गराईएको अधिकारीले बताउनुभयो ।

कार्यक्रमको लक्ष अनुसार यो आर्थिक वर्षमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने भनिएपनि कृषकको माग अनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको हो । पहिलो सिजनमा १ सय ४ हेक्टरमा क्षेत्रफलमा गरिएको आलु खेतीवाट दुई हजार छ सय ५८ मेट्रिक टन आलु उत्पादन भएको छ । जसवाट कृषकहरुले उपभोग गरेर बाँकी रहेको आलु विक्रिवाट रु. ५ करोड आम्दानी गरेका छन् ।

बसन्ते सिजन अर्थात वर्खे आलुका लागि ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यसको उत्पादन र आम्दानीको तथ्यांक असार अन्तिम सातासम्म आईपुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । सवैभन्दा बढि आलु जिल्लाको जलजला गाउँपालिकामा उत्पादन भएको केन्द्रल जनाएको छ ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रति हेक्टर न्यूनतम २६ मेट्रिकटन देखि अधिकतम ४६ मेटिकटन सम्म उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिनुभयो । यसवाट उपभोगका लागि कृषकहरुलाई खरिद गर्न नपर्नुका साथै बिक्रिवितरण वाट समेत राम्रो आम्दानी गरेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!