नागरिकको मनोबल बढाउनेगरी काम गर्न मन्त्री गिरीको निर्देशन - News site from Nepal
नागरिकको मनोबल बढाउनेगरी काम गर्न मन्त्री गिरीको निर्देशन

पर्वत २९ फागुन ः कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नागरिकको मनोबल बढाउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

जिल्ला समन्वय समिति पर्वतद्धारा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै मन्त्री गिरीले सेवा प्रवाह र सुशासन कायम गर्ने कुरामा कुनै कसर बाँकी नराखि काम गर्न निर्देशन दिनुभएको हो । संघ तथा प्रदेशका कार्यालय र स्थानीय तहहरुले गर्ने कामले नागरिकहरुको सरकारप्रतिको भरोसालाई बढाउँदै लैजाने भएकाले आ-आफ्नो जिम्मेवारीलाई इमान्दारीताका साथ पालना गर्न आग्रह गर्नुभयो ।

मन्त्री गिरीले पहिले जस्तै असारे विकासको प्रचलन अन्त्य गर्न सुझाव दिनुभयो । वर्षभरी काम नगर्ने तर बजेट सिध्याउने नाममा आर्थिक वर्षको अन्तमा गरिने हतारको विकासले गुणस्तरीय काम नहुने बताउनुभयो । यस तर्फ जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुर्ने उहाँको भनाई छ । उहाँले पुरानै ढर्राका कार्यक्रम भन्दा नागरिकलाई प्रत्यक्ष फाईदा पुग्ने खालका स्वरोजगारमुखि कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । विकासको रोलमोडलको रुपमा नयाँ नयाँ कार्यक्रम संचालन गर्नुपर्ने उहाँको भनाई छ । ‘बढ्दो युवा पलायनलाई रोक्नका लागि गाउँमै रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरु ल्याउनुहोस्, संघीय सरकारको तर्फवाट आवश्यक सहयोग र सहजीकरण गर्न म तयार छु ।’ उहाँले भन्नुभयो

उहाँले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । पर्वत जिल्लाको समृद्धि र विकास सवैको एकमात्र लक्ष्य भएकाले सोही अनुसार काम गर्न निर्देशन दिँदै गिरीले संघीय सरकारवाट हुने सवै खालको सहयोग गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । तपाईहरु निर्धक्क भएर काम गर्नुहोस् मन्त्री गिरीले भन्नुभयो-‘कसैको दबाब र प्रभावमा परेर काम गर्न जरुरी छैन ।’ उहाँले प्रकृयागत रुपमा हुने कामका लागि नागरिकलाई अनावशयक दुःख नदिन पनि आग्रह गर्नुभएको छ ।

केहि कानूनी उल्झनहरु भएमा सल्टाउनका लागि आफुले पहल गर्ने बताउँदै आवश्यक समन्वय गर्न समेत सुझाव दिनुभएको छ । जिल्ला भित्र संचालित विकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न र गुणस्तरीय काम भए नभएको बारेमा सम्वन्धित कार्यालय वा नागरिक तहवाट पनि नियमित अनुगमन गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

मन्त्री गिरीले यस अघि आजै जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन तथा सुझावहरु पनि दिनुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकको अध्यक्षतामा चलिरहेको कार्यक्रम दुई दिनसम्म संचालन हुने छ । कार्यक्रममा जिल्लाका सात पालिका र प्रदेश तथा संघीय कार्यालयहरुले अर्धवार्षिक प्रगति विववरण प्रस्तुती राख्ने भएका छन् । कार्यक्रममा स्वागत समन्वय उपप्रमुख सोम जिसी, कार्यक्रमका बारेमा समन्वय अधिकारी कमल पुन र संचालन महेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!