पर्वतको महाशिलामा घरेलु मदिरा ब्राण्डिङ गर्न शुरु - News site from Nepal
पर्वतको महाशिलामा घरेलु मदिरा ब्राण्डिङ गर्न शुरु

पर्वत – पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डीङ गर्न थालेको छ ।

मदिरा ब्राण्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबी लगायतको मदिरालाई ब्राण्डिङ गर्न पालिकाकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाइएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताउनुभयो ।

महाशिला गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निणर्य पारित गरेको थियो । छिमेकी जिल्ला स्याङ्जा र कास्कीमा समेत घरेलु मदिरा ब्राण्डिङ गरि विक्रिवितरण गरिरहेको अवस्थामा महाशिलाले समेत कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताउनुभयो ।

घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरुवखडा लगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ । महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्राण्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान शुरु गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।

गाउँपालिकामा कोदोको बढी सम्भावना भएकोले कोदोको मदिरालाई प्रथामिकता दिएर अनुसन्धान गरिएको उहाँको भनाई छ । “यहाँ धेरै समय पहिले देखि स्थानीयहरुले मदिरा बनाउदै आउनुभएको छ, धेरैको रोजीरोटी यसै बाट चलेको छ, हामी अनुसन्धान गरि त्यसलई कसरी व्यवस्थित गर्न सक्छौ भनेर लागि परेका छौँ’’, उहाँले भन्नुभयो अनुसन्धान रिपोर्ट पश्चात बाकीँ काम अगाडी बढ्ने छ ।

सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा संकलन गरिएको र नमुना संकलनका लागि सबै वडामा तामाका भाडाँहरु प्रयोग गरि मदिरा बनाईएको छ । घरेलु ज्ञान, सिप र प्रविधि प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध हुने कोदो बाट एक देखि सात पाने र मिश्रित एक देखि सात पाने सम्मको गुणस्तरीय मदिरा संकलन गरि नमुना ल्याव परिक्षणको लागि पठाईएको छ । पालिकाका छुट्टाछुट्टै बस्ती र समुदायमा तयार गरिएको मदिराको छुट्टा, छुट्टै नमुना संकलन गरिएको छ ।

संकलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाई खान योग्य देखिने मदिरालाई अल्कोहलको मात्रा खुलाई ब्राण्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ । ब्राण्डिङ भएपनि अहिले अवैध रुपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थित उद्योग संचालन गरि उत्पादन अनुमति प्रदान गरिने भएको छ ।

महाशिला गाउँपालिकाका ६ वटै वडामा लुकिछिपि घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण हुँदै आएको छ । यसको ब्राण्डिङ गर्न सकेमा पालिकाको राजश्वमा समेत बृद्धि हुनुका साथै स्वरोजगा र रोजगारीका अवसर समेत बृद्धि हुने पालिकाको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!