पर्वत एमालेद्धारा संस्थापक र अग्रजको तस्विर अभिलेख राख्न शुरु - News site from Nepal
पर्वत २४ असोज ः नेकपा एमाले पर्वतले पार्टीका संस्थापक र अग्रजहरुको तस्विर सहित पृष्ठभूमिको अभिलेख व्यवस्थापन गर्न शुरु गरेको छ ।
पर्वतका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) स्थापना भएको दिनको स्मरणमा संस्थापक तथा अग्रहजहरुको तस्बिर अभिलेखको रुपमा राख्नुका साथै अभिलेख प्रकाशनको शुरुवात गरेको हो । पर्वतमा २०३६ साल असोज २४ गते नेकपा माले स्थापना भएको थियो ।
सोहि दिनको स्मरणमा बिहीवार एक कार्यक्रमको आयोजना गरी तस्विर अभिलेख कार्यको शुभारम्भ गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य मनोहर बि पौडेलले तस्बिर अभिलेख कार्यको उद्घाटन गर्दै संस्थापक र अग्रजहरुको मार्गदर्शनलाई सँधै आत्मसात गरेर पार्टीका गतिविधि संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमाले यो मुलुक परिवर्तनको महत्वपुणर् हिस्सेदार पार्टी रहेको बताउँदै एमाले बिना मुलुक विकासको कल्पना समेत गर्न नसकिने बताउनुभयो ।
उहाँले संस्थापकहरुलाई भावि पुस्ताले समेत सम्झिराखुन भन्ने उद्धेश्यले अभिलेख राख्नु महत्वपुणर् काम भएको बताउँदै यसलाई अझै बिस्तार गरेर तत्कालीन सेल्टरदाता तथा पार्टीलाई योगदान गरेकाहरुलाई समेत खोजी गर्न आग्रह गर्नुभयो ।
पर्वतमा तत्कालीन अवस्थामा कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा नेकपा माले गठन भएको थियो । उक्त पार्टीको सचिबमा गणेश शर्मा पौडेल रहनुभएको थियो । तत्पश्चात तोयानाथ चालिसे, बाबुराम पौडेल, विष्णुप्रसाद भट्टराई लगायतले नेतृत्व गर्दै आउनुभएको थियो । तत्कालीन नेकपा मालेका संयोजक कृष्णप्रसाद भट्टराईदेखि यस अघिका एमाले जिल्ला अध्यक्ष राजु पौडेल सम्मको कार्यकालका संयोजकहरुको तस्विर तथा पार्टीको इतिहासलाई अभिलेखिकरण गर्न थालिएको एमाले जिल्ला अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।
नेकपा एमालेलाई यो स्थानसम्म ल्याईपुर्‍याउनका लागि जिल्लामा कोकोले के योगदान गर्नुभएको रहेछ भन्ने बारेमा भावि पुस्तालाई समेत जानकारी गराउनका लागि यो अभियान थालिएको उहाँको भनाई रहेको छ । स्थापनाकालदेखि अहिलेसम्म १४ जनाले नेतृत्व गरिसक्नुभएको छ ।
नेकपा एमालेको इतिहासमा पुष्पलाल श्रेष्ठका समकालीन एक नेता पर्वतकै भोक्सिङका चन्द्र बहादुर गुरुङ रहेकाले पनि नेकपा एमाले र सिंगो कम्युनिष्ट आम्दोलनमा पर्वत जिल्लाको विशिष्ट योगदान रहेकाले पनि इतिहासलाई अभिलेखिकरण गर्न थालिएको अध्यक्ष पहाडीको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, गण्डकी प्रदेश कमिटि सदस्यहरु भक्त कुँवर, हिरादेवी शर्मा, प्रेम पौडेल, खुमप्रसाद सुवेदी लगायतले पनि अभिलेखलाई व्यबस्थित र प्रभावकारी बनाउनका लागि आ-आफ्नो क्षेत्रवाट आवश्यक सहयोग गर्ने प्रविबद्धता जनाउनुभएको छ ।
एमाले पर्वतले सवै जिवित संस्थापक तथा अग्रजहरुलाई सहभागि गराएर सम्मान गर्ने कार्यक्रमको समेत तयारी गरेको जनाएको छ ।
बिजयादशमीको अवसरमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बिमल पौडेल र संचालन सचिब सुवासचन्द्र पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!