एमाले पर्वतको दशौं अधिबेशन जारी ः प्रतिनिधि बिबादले बन्दसत्र हुन ढिलाई – अध्यक्षमा पौडेल र गिरी भिड्ने तयारीमा - News site from Nepal
पर्वत २८ चैत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आउन आँकाक्षीहरुले तयारी अगाडी बढाएका छन ।
नेकपा(एमाले) पर्वतको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजुप्रसाद पौडेल र उपाध्यक्ष पदमपाणी शर्मा र सचिब गोबिन्द गिरी पहाडीले तयारी तीब्र पार्नुभएको छ । यद्यपि पौडेल र गिरीबीच प्रतिस्पर्धा हुने बढि सम्भावना रहेको छ ।
जिल्ला अधिबेशनका लागि आज प्रतिबेदन माथि छलफल हुने र बिहीबारबाट निर्वाचन प्रकृया शुरु गर्ने तयारी छ । केही जनसंगठन र वडाहरुमा प्रतिनिधीमा देखिएको बिबादका कारण बुधबार मध्यान्ह सम्म बन्दसत्र शुरु हुनभने सकेको छैन ।
बन्दसत्र शुरु नभएपछि प्रतिनिधीहरु समुह समुहमा बसेर छलफल गरिरहेका छन । उनीहरु नेतृत्व चयनका लागि निर्वाचन नहोस भन्ने पक्षमा मत ब्यक्त गरिरहेको भेटिन्छ । पर्वतको वर्तमान पार्टी नेतृत्वको अगुवाईमा संघ र प्रदेशमा क्लिन स्विप गर्न सफल भएको तथा स्थानीयतहमा समेत सबै कार्यपालिकामा बहुमत र जिल्ला समन्वय समिति पनि आफ्नो पोल्टामा पार्न सफल भएकाले वर्तमान नेतृत्व नै दोहोर्‍याउने पक्षमा देखिएका छन ।
पार्टीको आन्तरिक निर्वाचनमा प्यानल बनाएर प्रतिष्पर्धा गर्दा भविश्यमा स्थानीय र संघ तथा प्रदेशको निर्वाचनमा त्यसको नकारात्मक प्रभाव पर्न सक्ने चिन्ता प्रतिनिधीहरुमा देखिएको छ ।
अहिले प्रतिष्पर्धाको तयारीमा रहे पनि अन्तिम समयमा तीन जना उम्मेदवार मध्ये एक जनाको नेतृत्वमा नै सहमति जुट्न सक्ने र वर्तमान कमिटीका केही पदाधिकारीहरुलाई प्रदेश र स्थानियतहको निर्वाचनमा उमेदवार बनाउने गरि सहमतिको प्रयास हुने एक जना प्रतिनिधीले बताउनुभयो । प्रतिनिधी सहमतिको वाताबरण बन्नुपर्ने पक्षमा रहे पनि अध्यक्षका आकांक्षीहरुले आफ्नो तयारी अगाडी बढाएका छन ।
अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष तथा फलेबास नगरपालिकाका पूर्व प्रमुख पदमपाणी शर्मा र उहाँको समुहको पनि तयारी छ । पर्वत एमालेमा निणर्ायक रहेको पदमपाणी शर्मा समुह समेतको समर्थन पौडेल समुहलाई हुने देखिएको छ ।
 पौडेलको प्यानलबाट निर्वाचन हुँदा पौडेलको समुहबाट उपाध्यक्षमा शिब पौडेल, सचिबमा जीवन उच्चै ठकुरी, उपसचिबमा देबी तिमिल्सिना लगायतका नेताको चर्चा छ भने गिरीको समुहबाट उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुवासचन्द्र पौडेल र उपसचिबमा चण्डी भुर्तेल तथा कमला पन्तको चर्चा रहेको छ ।  पौडेल पक्षबाट सचिबका उमेदवार बन्ने जीवन उच्चै र उप-सचिब देबीप्रसाद तिमिल्सिना उपाध्यक्ष पदमपाणी शर्मा निकटका हुनुहुन्छ ।
अध्यक्ष पदमा राजु पौडेललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाई, पुर्व मन्त्री तथा संविधानसभा सदस्य बिकास लम्साल, प्रदेश साँसदहरु मित्रलाल बस्याल र भक्त कुवँर सहितका नेताको  समर्थन रहेको छ भने पहाडीलाई कानुन, न्याय तथा  संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन रहेको छ ।
उद्घाटन कार्यक्रममा एमाले पर्वतका अध्यक्ष राजु पौडेलले आफ्नो नेतृत्वमा एमाले पर्वतले धेरै सफलता पाएकाले पुनः नेतृत्वको दौडमा होमिएको बताउनुभएको थियो । आफुँ अध्यक्ष भएपछि एमाले पर्वतले धेरै सफलता पाएको हुँदा ९ महिना बाँकी रहेका कारण दोहोरिन कार्यकर्ताबाट दबाब आएको उहाँको भनाई छ ।
  सदस्य, उपसचिब हुँदै सचिबको जिम्मेवारी सम्हालिसक्नुभएका गोविन्द गिरी पहाडीले लामो समयदेखि पार्टीका सवै पदमा सफलतापुर्वक जिम्मेवारी पुरा गरेकाले अहिले अध्यक्षको तयारी गरेको बताउनुभयो । उहाँले अघिल्लो अधिवेशनमा आगामी कार्यकालमा आफुलाई अध्यक्ष बनाउन सर्तमा लिखित सहमति भएको स्मरण गराउँदै कुनैपनि हालतमा पछि नहट्ने बताउनुभयो । उहाँले आफ्नो नेतृत्व बाहेकमा सहमति हुन नसक्ने ठोकुवा गर्नुभयो ।
पौडेल र गिरीबीचको प्रतिस्पर्धाको चर्चाले उपाध्यक्ष पदमपाणी शर्मा अप्ठ्यारोमा पर्नुभएको छ । उपाध्यक्षपछि स्वःत रुपमा अध्यक्ष हुने आफ्नो पालो रहेकाले आफुपनि तयारीमा रहेको उहाँले बताउनुभयो । शर्माले पौडेल र गिरी लचिलो भएर आफनो पक्षमा सर्वसम्मत बनाएर जाँदा पार्टीको लागि हित हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!