डेंगीका बिरामी बढेपछि पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान शुरु - News site from Nepal

पर्वत २४ साउन ः पर्वतमा दैनिकजसो डेंगी सक्रमित बिरामीकमो संख्या बढ्दै जान थालेपछि लामखुट्टेको खोज र नष्ट अभियान थालिएको छ ।

स्वास्थ्य कार्यालय पर्वत र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे नष्ट गर्नका लागि अभियाननै संचालन गरिएको हो । डेंगी रोगको संक्रमण फैलनुको मुख्य कारक लामखुट्टे नै भएकाले यसको निराकरण नगरेसम्म संक्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान थालिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढि जनघनत्व भएका, फोहोरमैला बढि उत्सर्जन र बिसर्जन हुने ठाउँहरु, ग्यारेज, टायर तथा सफा पानी जम्मा हुने स्थानहरुलाई लक्षित गरी खोज र नष्ट अभियान थालिएको हो । लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियानलाई नियमित संचालन गरिने शर्माले बतउनुभयो ।

पछिल्लो दुई साता यता पर्वतमा ५६ जनामा डेंगी संक्रमण देखिएको छ । यसमा कतिपय गम्भिर खालका बिरामीहरु प्नि रहेका छन् । डेंगु संक्रमित विरामी मध्ये सवैभन्दा बढि कुश्मा नगरपालिका भित्रका रहेका छन् । त्यसमा पनि कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का छन् । दैनिकजसो संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले बिहीबारदेखि खोज र नष्ट गर्ने अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

बजारमा पानीको अभाव हुने सक्ने पिरले भाँडामा केही दिनदेखि पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजहरूमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीहरूमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुन सक्ने प्लास्टिकजन्य बस्तुहरूमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ अभियान थालिएको शर्माले बताउनुभयो ।

अभियान अन्तर्गत घरघरमा पुगेर जम्मा गरेर राखिएको पानी पोख्ने तथा डेंगु फैलिने कारण, असर र यसको रोकथामको बारेमा सचेतना समेत जगाउने गरिएको छ । वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको तथ्यांक हरेक दिन उकालो लाग्दै गएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार साउन महिनाको हालसम्म जिल्लाका ५६ जना बिरामीमा डेंगु पुष्टि भएको छ । सुरुका दिनमा दैनिक एक÷दुई जनामा पुष्टि भएको भए पनि पछिल्ला दिनमा एकै दिनमा नौ जनासम्ममा डेंगु पुष्टि हुन थालेको शर्माले बताउनुभयो ।

स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र सङ्क्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा यस अगाडि स्वास्थ्य कार्यालयको आयोजनामा पानी पोख्ने अभियानसमेत चलाइएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बिहान र बेलुकाको समयमा जिल्लामा रहेका सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेंगु सङ्क्रमण भएको भन्दै उहाँले घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन जिल्लावासीमा अनुरोध गर्नुभयो ।

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षणहरू देखिए डेंगु भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!