पर्वत २१ भदौ ः पर्वतको सदरमुकाम कुश्मा नगरपालिका-७ खरेहामा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडक खण्डको पर्वत सदरमुकाम कुश्मा बजारनजिकै खरेहामा बुधबार दिउँसो दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सिताराम ओझाका अनुसार दुर्घटनामा परी पैदलयात्री एक जना र ठक्कर दिने स्कुटरमा सवार दुई जना गरी तीनजना घाइते भएका हुन् ।
घाइते भएकाहरुमा खरेहाका ३२ वर्षीय राजु नेपाली, कुश्मा नगरपालिका-६ धनेश्वर चोककी ५५ वर्षिया तुलसी गिरी र मकवापुर घर भई हाल धनेश्वर चोकमा बस्दै आएका ५८ बर्षिया सुरज बहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।
थिङले चलाएको ध २ प ३२९१ नम्बरको स्कुटरले पैदलयात्री राजु नेपालीलाई ठक्कर दिएको हो । तुलसी गिरी भने सोही स्कटुरको पछाडि बस्नुभएको थियो ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेकाले उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ ।






