पर्यटन क्षेत्रको विकासबाटै गण्डकीको समृद्धि ः मन्त्री बस्याल  - News site from Nepal
पर्वत २१ भदौ ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रको विकासवाटै गण्डकी प्रदेशको समृद्धि हुने बताउनुभएको छ ।
पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा शुक्रवार आयोजित तीज मेलाको उद्घाटन गर्दै मन्त्री बस्यालले गण्डकी प्रदेशका सवैजसो जिल्ला आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने दावी गर्दै पर्यटन क्षेत्रको विकासमा सरकारको मुख्य ध्यान रहेको बताउनुभयो । आकर्षक गन्तब्यका साथै कला र संस्कृतिमा यो प्रदेश अब्बल रहेको चर्चा गर्दौ बढि भन्दा बढि पर्यटकलाई भित्र्याउनका लागि सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री बस्यालले अहिलेको सरकार पुर्ण कार्यकाल सम्म टिक्ने दावी गर्नुभयो । बाँकी रहको तीन वर्ष अवधिसम्म अहिलेको सरकार टिक्ने उहाँको दावी छ । अस्थिर सरकारका कारण मुलुकको विकास हुन नसकेकोप्रति दलहरु सचेत भैसकेको भन्दै बीच अब सरकार बनाउने र ढलाउने खेलमा कोहि नलाग्ने उहाँको भनाई छ । स्थिर सरकारवाट मात्रै समृद्धि  विकासको लक्ष्यमा पुग्न सकिने भएकाले दिगो सरकार र र्दिघकालीन लक्ष्य र योजनालाई अहिलेको सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री बस्यालले प्रसिद्ध रहेको बाटुलेचौर क्षेत्रको विकासका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बाटुलेचौरको विकासका लागि गुरुयोजना सहितको प्रस्ताव ल्याउन आग्रह गर्दै प्रदेश सरकारवाट सम्भव हुने सवै सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले धार्मिक, पौराणिक र ऐतिहासिक पहिचान बोकेको बाटुलेचौरको विकासका लागी सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।  एक दिने बृहद तीज मेलामा गण्डकी प्रदेश स्तरीय छेलो हान्ने प्रतियोगिता, खुल्ला तीज गित प्रतियोगिता र नृत्य प्रतियोगिता संचालन गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ सिता काफ्ले लामिछाने, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडी, काँग्रेसका महाधिवेशन प्रतिनिधि शिव अधिकारी,  जिल्ला उपसभापति शिव सुवेदी, फलेवास नगरपालिकाका पुर्व प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष झलक रिमाल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!