पर्वत- प्रादेशिक ऐन तर्जुमा प्रकृयामा स्थानीय अपांगता भएका व्यक्तिका संस्थाको क्षमता विकास सम्वन्धि अभिूमूखिकरण कार्यक्रम बुधवार पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
मोविलिटी इन्टरनेशनलको सहयोगमा स्वाबलम्वन जीवनपद्धती केन्द्र पोखराद्धारा आयोजित अभिमूखिकरण कार्यक्रममा सहभागिहरुले अब बन्ने ऐनमा अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
जुनसुकै ऐन कानूनहरु उपयुक्त ढंगले निर्माण हुने भएपनि त्यसको व्यवाहारिक कार्यान्वयनमा समस्या हुने गरेको भन्दै बास्तविक अपाङ्गतालाई सम्वोधन गर्नेगरी ऐन ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागि अपाङ्गता भएकाहरु नागरिकहरुले अपाङ्गतालाई क्षमता अनुसारको रोजगार वा स्वरोजगारको व्यवस्था, हरेक क्षेत्रमा सहज पहुँच, स्वास्थ्यमा सहुलियत, उच्च तहमा पनि निशुल्क शिक्षाको व्यवस्था साथै सामाजिक सुरक्षामा पनि विशेष प्राथमिकता हुनुपर्ने बताएका छन् ।

राज्यका तीनवटै तहले अहिलेपनि अपाङ्गता भएकाहरुलाई फरक दृष्टिकोणले हेर्ने गरेको उल्लेख गर्दै अब साङ्ग सरह आवश्यकता अनुसार समता र समानता प्रदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष अधिवक्ता सुदर्शन सुवेदीले अपाङ्गता भएका आम ब्यक्तिहरुको आवश्यकता, हित र उत्थानका निम्ति सहजीकरण गर्ने खालको ऐन ल्याउनका लागि आफुहरुले सुझाव प्रदान गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गताको अधिकार स्थापित गर्नका लागि आफु निरन्तर अभियानमा रहेको बताउँदै बास्तविक पिडितका रायसुझाव संकलन गरेर ऐनमा उल्लेख गराउन यो कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले ऐन नियमहरु विभेदरहित हुन नहुने बताउँदै जुनसुकै प्रकृतिका अपाङ्गता भएकाहरु पनि अवसरबाट बञ्चित हुन नहुने बताउनुभयो ।
कार्यक्रममा स्वाबलम्वन जीवनपद्धती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले ऐन, कानूनहरु अपाङ्गताको पहुँचमैत्री बनाउनका लागि आफुहरुले जोड दिएको बताउनुभयो । ऐन निर्माणमा सवैको अपनत्व प्रदान गर्नका लागि यस्ता खालका अभिमूखिकरण कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
कार्यक्रममा पर्वतका सातवटै पालिकाबाट अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको सहभागिता रहेको थियो । उनिहरुले पनि ऐन तर्जुमाको क्रममा समावेश गर्नुपर्ने विषयका बारेमा सुझाव तथा प्रतिकृया दिएका थिए ।
कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, स्वालम्बन जीवनपद्धती केन्द्र पोखराका कर्मचारी टेकबहादुर बरुवाल लगायतले बोल्नुभएको थियो ।






