खडेरीले सताएपछि पर्वतको दुर्लुङ्गवासीद्धारा अखण्ड कृतन शुरु - News site from Nepal

पर्वत, २२ वैशाख ः लामो समयदेखिको खडेरीले बालीनाली लगाउन नपाउनुका साथै लगाएको बाली समेत सुक्दै जान थालेपछि पर्वतका किसानहरु धार्मिक बिधिबाट पानी पार्ने आशमा जुटेका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका स्थानीयहरुले वर्षा गराउन बैदिक बिधि अनुसार इन्द्रदेवताको पुजापाठ, रुद्री सहित अखण्ड किर्तन शुरु गरेका हुन् । स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा दुर्लुङ्गस्थित तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, बरुणदेवता र भगवान शिवको मुर्ति स्थापना गरि पुजापाठ सहित कृतन शुरु गरिएको हो ।

यस क्षेत्रमा गएको असोजदेखि पर्याप्त पानी परेको छैन । गत फागनु अन्तिम साता सामान्य वर्षा भएपनि पर्याप्त थिएन । सामान्य वर्षाको भरमा खेतवारीमा मकै, वर्खे आलु, लहरेवाली लगायतका तरकारी र कोदो, धानको विऊ राखिएको भएपनि वर्षा नहूँदा उम्रिएका मकै र विऊ समेत सुक्दै गएको छ ।

बढ्दो गर्मी र खडेरीका कारण प्रदुषण समेत बढ्दै गएको भन्दै किसानहरुले धार्मिक परम्परा अनुसार यस्तो अखण्ड कृतनको थालनी गरेको स्थानीय रामचन्द्र पौडेलले बताउनुभयो । बिगतका वर्षहरुमा पनि यस्तै किर्तन गर्दागर्दै मुसलधारे पानी परेको उदाहरण रहेको भन्दै पौडेलले लामो खडेरी पर्दा पहिले पहिले पनि अखण्ड कृतन, रुद्री लगाउने परम्परा रहेको बताउनुभयो ।

शनिबार विहान ८ बजेदेखि शुरु भएको अखण्ड कृतन चौविस घण्टासम्म निरन्तर संचालन गरिने भएको छ । भजनमण्डलीका छुट्टाछुट्टै समुह बनाइएको किर्तनमा हरेक समुहले कम्तिमा तीन/चार घण्टा लगातार धार्मिक भजन गाउने नियम बनाइएको स्थानीय प्रभु गुरुङले जानकारी दिनुभयो । बैदिक बीधि अनुसार पानीका देवता इन्द्रको पुजाआजा गरेपछि वर्षा भएको कुरा पुराणहरुमा उल्लेख भएको स्थानीयको भनाई छ ।

लामो खडेरीका कारण कृषकहरुले लगाएको बालीनाली सुक्दै जान थालेको छ भने वर्खेवालीहरु लगाउन समेत समस्या भैरहेको छ । लामो समय वर्षा नहूँदा हिउँदे बालीको रुपमा लगाईएको गहुँ, आलु तोरीमा समेत कृषकहरुले क्षति व्यहोरेका छन् । विगतमा पनि प्रसिद्ध दुर्लुङ्गकोटमा अखण्ड कृतन लगाउने गरिएको र सोहि दिन वा तीन दिन भित्रमा पर्याप्त वर्षा हुने गरेको गुरुङले जानकारी दिनुभयो । अखण्ड कृतनको लागि आवश्यक खर्च व्यवस्थापन गर्न स्थानीयवासीहरुले आर्थिक सहयोग समेत गरेका छन् ।

खडेरीले आसपासका मुलहरु सुकेपछि पिउने पानीको समेत अभाव भएको छ । लामो खडेरीकै कारण सदरमुकाम कुश्माबजारमा समेत खानेपानीको अभाव भएको छ । पानी अभावले लोडसेडिङ गरेर दिनमा एक समय मात्र पानी आपुर्ति गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!