पर्वत- लामो समयदेखिको खडेरीका कारण पर्वतका कृषक मारमा परेका छन् । फागुन अन्तिम साता सामान्य परेको वर्षाको भरमा खेतवारीमा मकै लगाएपनि वर्षा नहुँदा गोडमेल समेत गर्न पाएका छैनन । खडेरीले बारीमै मकै सुक्न थालेका छन् ।
त्यस्तै कतिपय स्थानका कृषकले चैते धान समेत रोप्न नपाएको गुनासो गरेका छन् । खडेरीले हिउँदे बालीनालीमा ठुलो नोक्सानी गुमाएका कृषकले वर्खे वाली लगाउन समेत समस्या भएको छ । कतिपय कृषकले कोदोको विऊ राखेका छन् भने कतिपय ठाउँमा विऊ समेत राख्न नपाएको गुनासो गरेका छन् ।
धानको विऊ समेत ब्याडमै सुक्न थालेको कृषकहरुको गुनासो छ । मौसमवीद्हरुका अनुसार अझै केहि दिन वर्षा हुने सम्भावना नभएकाले यस वर्ष मकैवाली पुरै सखाप हुने अवस्था देखिएको पर्वतको महाशिलाका कृषक राजेन्द्र पौडेलले बताउनुभयो । लामो समय वर्षा नहूँदा वारीमा लगाएका मकै ओईलिन र सुक्न थालेको उहाँको भनाई छ ।
जिल्लाको ठुलीपोखरी, कटुवाचौपारी, पाङ, फलेवास, कुर्घा, वर्राचौर क्षेत्रका कृषकहरुले पनि खडेरीले खेतवारीमा लगाएको मकै सुक्दै जान थालेको गुनासो गरेका छन् । जिल्लाका अधिकांस भागका कृषक वर्षाको पानीको भरमा खेतीवाली लगाउँदै आएका छन् । तर जलवायु परिवर्तनको असरका कारण लामो समयसम्म वर्षा नहुने गर्दा कृषकहरु समस्यामा परेका हुन् ।
खडेरीसँगै जिल्लामा डढेलो र आगालागीका घटना समेत बढ्दै गएको छन् । जसले गर्दा पर्वत लगायत आसपासका जिल्लाको बायुमण्डल प्रदुषित बन्नुका साथै हाबामा समेत खरानीका कणहरु उडिरहेको देखिन्छ । यसले बालबालिका र बृद्धबृद्धाहरुमा विभिन्न संक्रमणहरु देखिन थालेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतले वर्खे वालीनाली लगाउने बेला वर्षा नहुँदा किसानलाई समस्या परेको जनाएको छ । सिंचाईको सुविधा पुगेका ठाउँमा ठुलो असर नपर्ने भएपनि सिंचाईको सुविधा नभएका ठाउँका कृषकहरुलाई भने बालीनाली हुर्काउन समस्या रहेको केन्द्रले जनाएको छ ।






