पर्वत – पोखरामा गत वर्ष भएको यति एयरलाईन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका आफन्तको शालिक निर्माण गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेलको अर्धकदको सालिक स्थापना गरिएको हो । दुर्घनामा पौडेलसँगै उहाँकी ११ वर्षकी छोरी प्रसिद्धिको पनि ज्यान गएको थियो । प्रसिद्धिको विद्यालय विदा मनाउन माघे संक्रान्तिको दिन बाबुछोरी गृहजिल्ला पर्वत आउने क्रममा विमान दुर्घटनामा पर्नुभएको थियो ।
स्थानीय सुवणर्-राम पौडेल वंश प्रतिष्ठान पर्वतले सालिक स्थापना गरेको हो । पौडेलको बार्षिक पुण्य तिथिको अवसरमा शनिवार पौडेल वंश प्रतिष्ठानको कुल मन्दिर परिसरमा स्थापना गरिएको सालिक सुवणर्-राम पौडेल वंश प्रतिष्ठानका संस्थापक जेष्ठ सदस्य सुविन्द्रबहादुर पौडेलले अनावरण गर्नुभएको छ । मृतक पौडेल सोहि प्रतिष्ठानका संस्थापक सचिब समेत रहनुभएको थियो भने कुल मन्दिर समेत उहाँकै पहलमा बनेको थियो ।
नौ वर्षसम्म कोरियामा रोजगारी गरेर फर्किएका पौडेल तीन छोरी र श्रीमती सहित काठमाण्डौमा बस्दै आउनुभएको थियो । काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रशिद्धिलाई जन्मघर पर्वत घुमाउने र दाजुभाइ भेटौं भनेर जन्मघर आउने क्रममा दुःखद दुर्घटना भएको छिमेकी केशबदास वैरागीले बताउनुभयो ।
पौडेल २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । विमान दुर्घटनासँगै पौडेलको भौतिक शरिर नरहेपछि उहाँले सामाजिक क्षेत्रमा पुर्याएको योगदान, आफन्त तथा दाजुभाई र इष्टमित्रहरुमा सधैभरी स्मरणमा रहिरहोस् भनेर सालिक बनाईएको उहाँले बताउनुभयो ।
मृतक पौडेलकी श्रीमती रिता पौडेल सापकोटा कान्छि छोरी परिधि पौडेल सहित रोजगारीका लागि काठमाण्डौ बस्दै आउनुभएको छ ।
२०७९ माघ १ गते आईतवार दिउँसो भएको उक्त जहाज दुर्घटनामा परि पौडेलका बाबुछोरी सहित पर्वतका १० जनाले ज्यान गुमाएका थिए ।






