पर्वत १६ भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।
राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन मालढुंगा–बेनी सडक खण्डमा पर्ने पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा माथिवाट खसेको लेदो सहितको पहिरोका कारण केहि बेर अघिदेखि सडक अवरुद्ध बनेको हो ।
सडक स्तरोन्नतीका क्रममा खनिएको पहाडवाट पहिरो झरेको जलजला गाउँपालिकाको सचिबालयले जनाएको छ । वर्षा पनि नरोकिएको र पहिरो समेत निरन्तर झरिरहेकाले तत्काल सडक खुलाउन सकिने अवस्था छैन । पहिरो झर्ने क्रम नरोकिएकाले बैकिल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाको सचिबालयले आग्रह गरेको छ ।
सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला म्याग्दी र मुस्ताङवाट छुट्ने र अन्यत्रवाट ति जिल्लाका लागि आएका सवारी अलपत्र बनेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडक माथिवाट ढुंगामाटो निरन्तर खसिरहेकाले यातायात नियमित संचालनमा समस्या भैरहेको जनाएको छ । वर्षा रोकिने वित्तिकै सडक खुलाउन प्रयास गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो ।
आइतवार विहानदेखि यस क्षेत्रमा वर्षा भैरहेको छ । कमजोर भौगोलिक अवस्थाका कारण यो सडकमा सामान्य वर्षा हुने वित्तिकै अवरुद्ध हुने गरेको छ । वर्षा भएको बेला म्याग्दी र मुस्ताङ जाने सवारीसाधनले बागलुङ तर्फको सडक प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।






