हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल - News site from Nepal
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल

पर्वत, १९ चैत-  पढ्नको लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिलाले देखाउनुभएको छ ।

दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीकी ५० वर्षिया खगिसरा भुसालले एसईई परिक्षामा सहभागि भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उमेरले ५० वर्ष नाघिसकेको छ । घरमा धेरै जिम्मेवारीहरु पनि छन् । दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहदान समेत गरिसक्नुभएको छ । बुढेसकालमा सुख सयलका साथ जीवन विताउने बेला भएपनि सानो उमेरमा पढाई पुरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पुरा गर्न थाल्नुभएको हो ।

उहाँले स्थानीय वहाकी उच्च मावि परिक्षा केन्द्रवाट एसईई परिक्षामा सहभागि हुनुभएको छ । वि.सं. २०४६ सालमा उहाँको विवाह भयो । विवाह लगत्तै गर्भवती हुनुभयो । कक्षा ९ को बार्षिक परिक्षा दिने बेला हुँदै थियो । त्यहि बेला उहाँ सुन्त्केरी भएर छोरा जन्मिए । सुत्केरी भएपछि परिक्षा दिन त पाउनुभएन नै त्यसपछिको पढाई समेत रोकियो । पढाई छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उहाँ गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना हुनुभयो । कक्षा ९ उत्तिणर् गरेर नियमित कक्षा १० अध्ययन पुरा गरेपछि अहिले एसईईमा सहभागि हुनुभएको हो ।

पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभएपनि आफुले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुन विद्यालय पढ्न थालेको परिक्षार्थी खगिसरा भुसालले बताउनुभयो । उहाँले कक्षा ८ सम्म विहादी गाउँपालिका वडा नं. ५ उरामको चन्द्र माविमा अध्ययन गर्नुभएको थियो । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफुलाई असहज महसुस नभएको उहाँको भनाई छ ।

अहिले उहाँका जेठा छोरा काठमाण्डौमा पत्रकारिता गर्दै आउनुभएको छ भने दुई नाती समेत जन्मिसकेका छन् । ठुलो नाती विद्यालय समेत जान लागिसकेका छन् । छोरीको पनि विवाह भैसकेको छ । उहाँ काठमाण्डौमै रहेर स्नातकोत्तर गर्दै हुनुहुन्छ भने नातीनी समेत जन्मिएकी छिन् । कान्छा छोरा अध्ययनका लागि जापान पुगेका छन् ।

‘छोराबुहारीको कमाईवाट सुखसयलमा बसेको भएपनि हुन्थ्यो, तर सानोमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुन पढ्न थालेकी छु’ उहाँले भन्नुभयो ‘एसईई पछि पनि कक्षा ११, १२ अध्ययन गर्ने योजना छ ।’ भुसाल विहादी गाउँपालिकाकी पुर्व जनप्रतिनिधि समेत हुनुहुन्छ । उहाँ पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसवाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बन्नुभएको थियो । उहाँले अहिले सक्रिय राजनीति समेत गर्दै आउनुभएको छ । भुसाल नेपाली काँग्रेस विहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला संघ विहादीको कोषाध्यक्ष समेत रहनुभएको छ ।

त्यतिमात्र नभएर भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा समेत काम गरिसक्नुभएको छ । कार्यपालिका सदस्यमा बिजयी भएपछि उहाँले स्वयंसेविका छाड्नुभएको हो । उहाँले २०४८ सालवाटै नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएर राजनीति समेत गर्दै आउनुभएको थियो ।

‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाईको ज्ञानसँगै प्रमाणपत्र समेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’ उहाँले भन्नुभयो । घरमा छोराछोरीको जिम्मेवारी पुरा गरेपछि पढ्न समेत सहज भएको उहाँले बताउनुभयो । भुसालका श्रीमान तिलक भुसाल नेपाली काँग्रेका नेता हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस पर्वतको सहसचिब तथा संगठन विभाग प्रमुख रहनुभएको छ ।

‘सानै उमेरमा बिबाह भएपछि पढाई रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकि छिन्’ श्रीमान तिलकले भन्नुभयो -‘उनको इच्छा अनुसार जहिलेसम्म पढ्छिन, त्यतिवेला सम्म पढ्न दिने बिचार गरेको छु ।’ श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफुले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाई पर्वतले पर्वतमा एसईई दिने दुई हजार २८ विद्यार्थी मध्ये खगिसरा भुसाल सवैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसला ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उहाँ जिल्लामै सवैभन्दा बढि उमेरको विद्यार्थी भएको बताउनुभयो । भुसाल सवैभन्दा बढि उमेरको हुनुहुन्छ भने पर्वतकै पैंयु गाउँपालिका स्थित जनसेवा संस्कृत माविवाट १२ वर्षका शक्ति अधिकारीले पनि एसईई परिक्षा दिनुभएको छ । अधिकारी जिल्लाकै सवैभन्दा कान्छो उमेरका विद्यार्थी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!