अपुरो छानबिनका भरमा फर्काइए शर्मा - News site from Nepal
अपुरो छानबिनका भरमा फर्काइए शर्मा

काठमाडौं : नपाइएको सीसीटीभीमा नदेखिएको दृश्यलाई मुख्य आधार बनाउँदै संसदीय विशेष समितिको बहुमतले ‘चोख्याएको’ दुई दिनमा जनार्दन शर्मालाई प्रधानमन्त्रीले पुनः अर्थमन्त्री नियुक्त गरेका छन्। छानबिन अपुरो मात्र छैन, यसको मुख्य विषयवस्तुमा समिति छिर्दै छिरेन।

बजेट निर्माणका क्रममा जेठ १४ गते मध्यरातिपछि पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई प्रवेश गराई कर, राजस्व र भन्सारका दर तलमाथि गराउन मन्त्री शर्माले खटाएका थिए। त्यसबारे जेठ ३० मा अन्नपूर्ण पोस्ट्मा समाचार आएपछि सर्वत्र विरोध भयो। तर, ‘१३ दिनभन्दा बढीको सीसीटीभी फुटेज मेटिएर जान्छ’, भन्ने अर्थको जवाफपछि शर्मामाथि दोहोरो नैतिक प्रश्न उब्जिएको थियो। र, असार २२ मा उनले राजीनामा दिएका थिए।

सीसीटीभी फुटेज ‘उडाइएको’ प्रकरणमा राजीनामा दिएका शर्माले सीसीटीभी फुटेज नभेटिँदा पनि पुनरागमन पाएका छन्। समितिले जेठको फुटेज माग्दा मन्त्रालयले असारको दिएको थियो। प्रहरीको फरेसिन्क ल्याबले ‘रिकभर’ गरेको भनिएको फुटेजमा दृश्य बुझिन्न। टुक्रा–टुक्रामा आएको त्यही दृश्यका आधारमा समितिको बहुमतले ‘केही नदेखिएको’ भनेको थियो। त्यसकै आधारमा ‘क्लिन चिट पाएको’ व्याख्या गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले शर्मालाई अर्थमन्त्रीकै जिम्मेवारीमा पुनः ल्याएका हुन्।

समितिमा एमालेतर्फका ४ सदस्यले फरक मत जाहेर गरेका थिए। मूल प्रतिवेदनमा पनि करको दर हेरफेरमा अर्थमन्त्री शर्मा निर्दोष भएको कहीँ कतै उल्लेख छैन। प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययनलगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश देखिएन भनियो। प्रतिवेदनमा हालसम्म प्राप्त प्रमाण भनेर लेखिनुले नै प्रमाण पूर्णरूपमा संकलन नै नभएको स्पष्ट हुन्छ।

शर्मासँगै करका दर हेरफेरमा मुख्य भूमिका खेल्ने पूर्वनासु घिमिरेसँग बयान लिने काम नै भएन। कल डिटेल, लोकेसन ट्रयाक, घटनास्थलको सर्जिमिन गरिएन। यसले बजेट निर्माण र विशेष गरेर कर निर्धारण प्रक्रियाको विश्वसनीयता, गोपनीयता, स्वच्छता र निष्पक्षतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ। अर्थ मन्त्रालयले छानबिनको कार्यमा सुरुदेखि नै आवश्यक सहयोग नगरेको विषयमा पनि प्रतिवेदनमा नै उल्लेख छ।

संसदीय छानबिनमा सत्तापक्षमा ७ र प्रमुख प्रतिपक्षबाट ४ जना थिए। समितिलाई मन्त्रालयले करका दर परिवर्तन गर्नेसम्बन्धी आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयले गरेका औचित्य पुष्टि सहितको निर्णय, माइन्युट र बजेट निर्माण प्रक्रियामा संलग्न कर्मचारीहरूको भूमिका सहितको विवरण (नामनामेसी) उपलब्ध गराएको छैन। यसले समिति नाम मात्रको र ‘सफाइ दिने नियतले स्थापना गरिएको’ स्पष्ट हुन्छ। नेपाल प्रहरीको अनुसन्धानमा विशेष दख्खल राख्ने पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी र पूर्वनायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले अनुसन्धान नै उल्टो भएको बताउँदै आएका छन्।

असार २२ गते अर्थसचिव मरासिनीले शर्मा मन्त्री भएसम्म नआउने भन्दै अनिश्चितकालीन बिदा लिएका थिए।

पूर्वडीआईजी ठकुरी भन्छन्, ‘सरकार, कर्मचारीतन्त्र, संसद्प्रति नै यसले अविश्वास सिर्जना गर्‍यो, यसले राम्रो सन्देश दिँदैन।’ छानबिन र अनुसन्धान फरक फरक भएको बताउँदै छानबिन समितिको गठनदेखि शर्मालाई चोख्याउने नियतमा उल्टो अनुसन्धान उनको दाबी छ। संसदीय समितिले सुरुवातमा सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरेर छानबिन अगाडि बढाउनुपर्नेमा डिलिट गरिसकिएको सीसीटीभी फुटेजको पछाडि लाग्यो।

पदभारमा पनि आएनन् अर्थसचिव
कुनै पनि मन्त्रीको पदभार ग्रहणमा सचिवको उपस्थिति प्रायः हुन्छ। तर, अर्थसचिव मधुकुमार मरासिनी शपथ ग्रहणमा आएनन्। एउटा कार्यक्रमको सिलसिलामा मरासिनी पोखरा छन्। उनको छिट्टै सरुवा हुने चर्चा पनि छ। अर्थमन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरी पुस्करले स्वागत गरेका छन्।

असार २२ गते अर्थसचिव मरासिनीले शर्मा मन्त्री भएसम्म नआउने भन्दै अनिश्चितकालीन बिदा लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य सचिव शंकरदास बैरागीलाई जानकारी गराएर नै बिदामा बसेका थिए। शर्माले राजीनामा दिएपछि भोलिबाटै उनी कार्यालय नियमित आएका थिए। छानबिन समितिको बयानमा भने उनले नकारात्मक टीकाटिप्पणी धेरै आएपछि बिदामा बसेको बताएका छन्।

‘प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्न थाल्नु भएपछि मलाई फर्केर सहयोग गर्न भन्नुभयो। देशको कार्यकारी प्रमुखले त्यति भन्नु भएपछि नमान्ने कुरै भएन,’ उनले आफू बिदा बसेको कुरामा यसरी स्पष्टीकरण दिएका छन्। पदभार ग्रहण गर्दै शर्माले आफ्नो ध्यान चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा केन्द्रित हुने बताए।

सडक र सदनबाट विरोध गर्ने
अर्थमन्त्रीका रूपमा जनार्दन शर्माले पुनः पदभार ग्रहण गरेपछि नेकपा एमालेले उनका विरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने बताए।

भट्टराईले भने, ‘बहुमतका नाममा अल्पमतलाई पेल्ने काम भयो। फरक मत लिएर जनताका बीचमा जान्छौं। सडक र सदनबाटै आन्दोलन गर्छौं। कडा रूपमा प्रतिवाद गर्छौं।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखे। ‘खीर खाने दिन’को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै कल डिटेल हेर्न नदिएको बताए।

उनले शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे। ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब छ। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने। उबेला त न कल डिटेल, न फुटेज। न मोबाइल, न क्यामेरा, न फोटो। चोरी पत्ता लगाउनु पर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो। अहिले चोख्याउने काम यसरी भयो,’ उनले भने।

annapurnapost.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!