विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत – शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) पर्वतले विश्वब्यापी कार्यसप्ताह २०२१ को सन्दर्भमा फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा, चुरीमा रहेको बाल प्राथमिक विद्यालयमा शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
एनसिई नेपाल पर्वतले सिटिजन लाइफ इन्सोरेन्स धौलागिरि कलष्टरसँगको समन्वयमा उक्त विद्यालयका सरोकारवालाहरुसँग एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालयका पूर्व शिक्षक, संस्थापक एवम् समुदायका गन्यमान्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडीले विद्यालय शिक्षा सुधारमा सरोकारवालाहरुको भूमिका विषयमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने फलेवास नगरपालिकामा रहेका विद्यालयहरुमा उत्कृष्ट बन्दै गइरहेको गहते अम्बोट आधारभूत विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले आफ्नो विद्यालयले गरेको शैक्षिक सुधारका पहलहरुको अनुभव सुनाउनुभएको थियो ।
उक्त कार्यक्रममा सिटिजन लाइफ इन्सोरेन्सका धौलागिरि एरीया म्यानेजर तथा युवा सामाजिक अभियन्ता दिपेन्द्र लम्सालले आफूहरु सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई आवश्यक सहयोग गर्न उत्सुक रहेको बताउँदै विद्यालयको उन्नतीका लागि सबै सरोकारवालाहरु एकजुट भएर योजनाबद्ध हिसाबले अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा सहभागीहरुले आफूहरुले हालसम्म गरिरहेका अभ्यास, समस्या र चुनौतीहरुका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र विकको अध्यक्षतामा भएको अन्तरक्रियाका कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले गर्नुभएको थियो भने स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष सपना विकले गर्नुभएको थियो ।
विसं. २०४५ सालमा स्थापना भई हाल कक्षा चारसम्म सञ्चालित सो विद्यालयमा अधिकांश दलित समुदायका बालबालिकाले अध्ययन गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!