पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम : बिरामी ठगिएको गुनासो - News site from Nepal
पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम : बिरामी ठगिएको गुनासो

पर्वत –  स्वास्थ्य बिमाको सेवा सुविधा लिएकाले औषधि निःशुल्क पाइने आशासहित गत मंसिर २६ मा पर्वत अस्पताल पुगेका दलबहादुर घर्ती तब जिल्ल परे जब उनलाई अस्पताल फार्मेसीका कर्मचारीले सम्बन्धित औषधि आफूकहाँ नभएको भन्दै रित्तै फर्काइदिए ।
डाक्टरले घर्तीलाई दुखाइ कम गर्ने पाराजोक्स नामक औषधि सिफारिस गरिदिएका थिए । तर अस्पताल हाताको फार्मेसी कर्मचारीले भने बिमा संस्थानमा उक्त औषधिको बिल दाबी भुक्तानीका लागि भने पठाएको पाइयो ।
नियमित मुटुको औषधि सेवन गर्दै आएका खुमनाथ रिमाल पनि हालै अस्पताल हाताकै फार्मेसीबाट ठगिए । दुई महिनाका लागि भन्दै इकोसिरिन र एटोर्टेन ट्याबलेटको बिल बिमामा दाबी गरेका भए पनि फार्मेसीका कर्मचारीले रिमाललाई भने एक महिनाको मात्रै औषधि दिएर पठाए ।
माथिका यी प्रतिनिधि घटना मात्रै हुन् । सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको ११ महिना भइसक्दा पनि बिमितहरू ठगिने क्रम रोकिएको छैन । त्यसो त अधिकांशले आफू ठगिएको पत्तोसमेत पाउँदैनन् । फार्मेसीका कर्मचारीले बिरामीलाई बिमाबापत पाएको सुविधाको विवरण नखुलाएको समेत प्रमाण भेटिएको छ । कर्मचारीले उल्लिखित औषधिको थोरै परिमाण बिरामीलाई दिएर धेरै परिमाण बिमा दाबी गरेको भेटिएको हो । अस्पतालले तोकेको बिमाबापतको औषधि दिन फार्मेसीका कर्मचारी हिच्किच्याउने, औषधि लिएको बिल र दाबी सुविधा नखुलाउने बिरामीहरूको गुनासो छ । साथै, थोरै औषधि दिएर धेरैको बिल बनाउने, बिमितलाई आफूले कति रकमको दाबी लिएको भन्ने जानकारी नगराउनेलगायत अनियमितता भइरहेको खुलेको हो । ‘बिमाका नाममा फार्मेसीले ब्रह्मलुट मच्चाएको छ,’ एक बिरामीले कान्तिपुरसँग भने, ‘हामीले लिएको औषधिको बिल नपाउने, हुँदै नभएका औषधि हाम्रा नाममा भुक्तानी मागेका छन् ।’

बिरामीले आफूलाई फार्मेसीमा भएका औषधिसमेत बाहिर किन्न लगाएर कर्मचारीले बिमा समितिमा पेस गरेको आरोप लगाएका छन् । एक लाख रुपैयाँ बराबरको औषधोपचार निःशुल्क पाइने आशामा स्वास्थ्य बिमा गरेका कतिपय बिरामी यतिबेला औषधिमा मात्रै नभई उपचारै नपाउने अवस्थामा पुगेका हुन् । ‘निःशुल्क औषधि पाइन्छ भनेर पैसा नलिई आएकी थिएँ,’ अस्पताल क्षेत्रमा भेटिएकी पार्वती पौडेलले भनिन्, ‘पैसा नै लाग्दैन भनेकै औषधि घुमाईफिराई किन्न लगाए । पछि बुझ्दा त मैले बाहिर किनेको औषधिको बिल अस्पतालकै फार्मेसीबाट लिएको बनेछ ।’ उनले आफूजस्तै कैयन बिरामी ठगिएको हुन सक्ने बताइन् । गत वर्षकै फागुनबाट सुरु स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितले जेठ १ देखि बिमाबापतको सुविधा लिन थालेका थिए । बिमितले ११ सय ३३ प्रकारका औषधि, सामान्य अपरेसन, एक्सरेलगायत सेवा पाउने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
बिमितले यसबारेमा पटकपटक फार्मेसीमा गुनासो गरे पनि सुनुवाइ भएको पाइँदैन । कतिपय घटनामा बिरामीले गुनासो गरेपछि औषधि फिर्ता दिएर घटना सामसुम पारिएको छ । ‘मैले गुनासो गरेपछि छुटेको रहेछ अब हल्लाखल्ला नगरौं भन्दै औषधि दिएर पठाए’ एक बिरामीले भने । एक वर्षमा करिब ६ हजारले बिमा गरेकोमा ३ हजारभन्दा बढीले सुविधा लिएको अस्पतालको बिमा कार्यक्रमका स्रोतव्यक्ति राजेश गिरी बताउँछन् । उनका अनुसार फागुन मसान्तसम्म ३० लाख रुपैयाँभन्दा बढीको दाबी भुक्तानी आएको छ ।

अस्पताल व्यवस्थापन समिति र कर्मचारी भने अनियमितता भएको स्विकार्दैनन् । ‘हामी तीन सिफ्टमा काम गर्ने छुट्टाछुट्टै कर्मचारी छौं,’ फार्मेसी कर्मचारी भावना खड्काले भनिन्, ‘कहिलेकाहीं छुटपुटमा केही गल्ती भएको होला । हामीले नै त्यस्तो गरेका छैनौं ।’ गिरीले फार्मेसीबाट आएका बिलबमोजिमको रकम मात्रै दाबी भुक्तानीका लागि स्वास्थ्य बिमा बोर्डमा पठाउने भएकाले थप जानकारी दिन नसक्ने बताए । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले कर्मचारीबाट जानीजानी कमजोरी भएको पाइए कारबाही गरिने बताए । ‘त्यो रकम सीधै अस्पतालकै खातामा आउने भएकाले कुनै कर्मचारीले बदमासी गरेजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘कुनै नियतवश कमजोरी गरेको पाइएमा कारबाही गर्छौं ।’
सहज सुविधा नपाएको गुनासो आएको भन्दै स्वास्थ्य बिमा बोर्डले गत फागुन ५ गते बिमाप्रदायक सबै अस्पताललाई बिमितलाई नियमानुसार पाउनुपर्ने बिल र अन्य कागजात उपलब्ध गराउन आदेशसहितको पत्र पठाएको छ । पत्रमा नियमानुसार काम गरेको नपाइएमा स्वास्थ्य बिमा ऐन २०७४ बमोजिम कारबाही गरिने उल्लेख छ ।

स्वास्थ्य बिमा बोर्डको गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले ऐनविपरीत काम गरेको पाइएमा कारबाही गर्ने बताए । ‘बिमाको नियमअनुसार अस्पतालले सेवा दिनुपर्छ । सबै निकायलाई भनिसकेका छौं,’ उनले भने, ‘त्यसविपरीत गरेको प्रमाणित भएमा कारबाही हुन्छ । पर्वतमा के भएको हो अनुसन्धान गर्छौं ।’
कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!