पर्वत : पर्वतको कुस्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा लिईने आधारभूत तह उत्तिर्ण परीक्षा (बि.एल.ई.) आउँदो जेठ ३ गतेबाट सुरु गर्ने भएको छ ।
आधारभूत तह उत्तिर्ण परीक्षा समितिका संयोजक तथा नगर शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीको संयोजकत्वमा सोमबार नगर शिक्षा शाखामा बसेको बैठकले जेठ ३ बाट सुरु गरी १२ गतेसम्ममा परीक्षा पूरा गर्ने भनी निर्णय गरेको समितिका सदस्य सचिव तथा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।
समितिले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार पहिलो दिन जेठ ३ गते सोमबार अनिवार्य अंग्रेजी, ४ गते मंगलवार नेपाली, ५ गते बुधबार गणित, ६ गते बिहीबार विज्ञान, ७ गते शुक्रवार सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ९ गते आईतबार पेशा, व्यवसाय तथा प्रबिधि शिक्षा, १० गते सोमबार स्थानिय बिषय तथा मातृभाषा र ११ गते मंगलवार नैतिक शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा बिषयको परीक्षा हुने भएको छ । नगरपालिकाका कतिपय सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुले तोकिएका बाहेकका अन्य विषयलाई पनि अतिरिक्त विषयका रुपमा पठनपाठन गराइरहेकाले त्यसरी पढाएका विद्यालयहरुले जेठ १२ गते परीक्षा लिने भनिएको छ ।
विद्यालयमा रहेका अनिवार्य विषय सहित कम्प्युटर, अतिरिक्त गणित र लेखा विषयको प्रश्नपत्र समेत नगर शिक्षा समितिले नै तयार पारेर बिद्यालयमा पठाउने समितिका संयोजक तिवारीले बताए । पछिल्लो समय देशमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको र देश पुन त्रासमा गएको अवस्था परीक्षा के हुने भन्ने बारेमा नेपाल सरकारले गरेका निर्णय अनुसार नै हुने उनको भनाई छ ।
कोरोना त्रासका कारण यस बर्षको सूरुवातबाट करिब मंसिर महिनासम्म विद्यालयमा नै भौतिक रुपमा उपस्थित भएर शिक्षण सिकाई क्रियाकलाप हुन पाएको थिएन । कतिपय विद्यालयहरुले वैशाख जेठ देखि नै आनलाईन मार्फत पठन पाठन सुरु गरेका थिए भने कतिपयले मंसिर पुष महिनाबाट मात्रै विद्यालय खुलाएका थिए । अनलाईनमा कक्षा सञ्चालन गरेका तथा भौतिक रुपमा छिटो विद्यालय खुलाएका विद्यालयहरुमा पाठ्क्रम अनुसार शिक्षण सिकाई क्रियाकलाप चलेको र पाठ्यक्रम अन्त्यमा पुगिसकेको अवस्था छ । तर ढिलाई गरेका केही विद्यालयमा पाठ्यक्रमका उद्धेश्य पूरा गर्न नै चुनौती देखिएको छ । तर असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने र जेठको १३ गतेबाट एसईई परीक्षा सञ्चालन हुने भएकाले यो भन्दा ढिलो कक्षा ८ को परीक्षा सञ्चालन गर्दा व्यवस्थापन र सञ्चालनमा नै चुनौती हुन सक्ने भएकाले जेठ ३ लाई उपयुक्त मिति मानिएको परीक्षा समितिले जनाएको छ ।