पर्वत-  पर्वतको कुश्मा स्थित शिवालय वहुमुखी क्याम्पसको नबौँ वार्षिकोत्सव तथा छैठौँ साधारणसभा आईतवार सम्पन्न भएको छ । क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले क्याम्पसको शैक्षिक उन्नतीका लागि अझै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । क्याम्पसले आयोजना गरेको कार्यक्रममा आर्थिक प्रतिबेदन पेश, पुरस्कार वितरण, सम्मान कार्यक्रम सहित सांगितिक प्रस्तुती समाबेश थिए ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई चिर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सबैका लागि शिक्षा र शिक्षामा समानताको विषय व्यवहारमा उतार्न आवश्यक रहेको सुनाउनुभयो । जिल्लामा क्याम्पसहरुको स्थिती नाजुक रहेको भन्दै पौडेलले सबै क्याम्पसहरुका बिचमा सहकार्य हुन सक्नुपर्ने कुरामा जोड दिनुभयो । शिवालय वहुमुखी क्याम्पस अव्वल क्याम्पसको रुपमा विकास हुँदै गएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुश्मा नगरपालिकाका शिक्षा समितिका सदस्य एवं कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्मा भारती, कुश्मा नगरपालिका ६ का अध्यक्ष रुद्र गिरी, शिवालय माविका संस्थापक प्राचार्य एवं नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणी शर्मा, नेकपाका प्रदेश सदस्य मेघनाथ सुबेदी, क्याम्पसका संस्थापक अध्यक्ष ईश्वर गिरी, क्याम्पस संस्थापक तोयानाथ चालिसे, चन्ददाता मोहन आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, गुप्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी, शिवालय क्याम्पस सञ्चालक समितिका सल्लाहाकार संयोजक ईन्द्रप्रसाद श्रेष्ठ, सम्मानित विद्यार्थी सुर्य सुबेदी, क्याम्पसका विद्यार्थी विपना सापकोटा र विशाल शर्मा लगायतले बोल्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अधयक्ष विष्णुप्रसाद नेवारको सभापतित्व र स्वागतमा भएको कार्यक्रममा क्याम्पसको प्रगति प्रतिबेदन क्याम्पस प्रमुख कमलनाथ शर्माले प्रस्तुत गर्नुभयो । कार्यक्रममा धन्यवाद मन्तव्य क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष गोबिन्द पहाडीले व्यक्त गर्नुभयो र भने मुल समारोहको सञ्चालन सहायक क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थी ईन्द्र न्यौपाने र मनोहरी शर्माले गजल प्रस्तुत गर्नुभयो । उत्कृष्ठ विद्यार्थीहरु क्रमश सूर्य सुबेदी, महेश पौडेल, गंगा सुबेदी, वविता क्षेत्री, र मन्जु लामिछाने पुरस्कृत भएका छन् ।

२०६७ सालमा त्रिवि बाट सम्वन्धन पाएको शिवालय वहुमुखी क्याम्पसमा २०७० सालदेखि शिक्षा शास्त्र संकायबाट पढाई शुरु भएको थियो । हाल शिक्षाशास्त्र, र व्यवस्थापन संकायका विभिन्न तहमा कुल २६५ विद्यार्थीहरुले पढ्दै आएका छन् । विभिन्न आरोह अवरोह छिचोल्दै आएको क्याम्पसले हालै आफ्नै भवन समेत बनाएको छ ।

वार्षिकोत्सव तथा साधारणसभामा क्याम्पसका विभिन्न तहमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान र हाजिरीजवाफ, निवन्ध लेखन र खेलकूदका प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक आनन्द पौडेलले गर्नुभएको थियो । क्याम्पसमा स्थापित अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको छ ।