पर्वत- पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित त्रिभूवन माविको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश आज भव्य रुपमा सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा पुरस्कार वितरण, सम्मान वितरण, अक्षयकोष र छात्रवृति वितरण गरिएको छ ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले प्रमुख अतिथीको रुपमा बोल्दै विद्यालयको सर्वागिंण विकासका लागि समूदायको चासो र सहभागिता आवश्यक हुने बताउनुभयो । फलेवास नगरपालिका शिक्षामा आमुल परिवर्तन गर्ने कार्यक्रमका साथ अगाडी बढेको बताउँदै नगरप्रमुख शर्माले शिक्षामा सुधार गर्ने अभियानमा विद्यालयका अभिभावक, शिक्षक, बिद्यालय व्यवस्थापन समिति र बिद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर तिवारीले ऐतिहाँसिक महत्व वोकेको त्रिभूवन माविलाई फलेवास नगरपालिकाले बिशेष रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयमा रहेका समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति लागिपरेको बताउँदै तिवारीले विद्यालयको पठनपाठन र भौतिक पूर्वाधारमा गुणात्मक परिवर्तन आउनुपर्ने कुरामा जोड दिनुभयो । वडाध्यक्ष अर्जुनवहादुर केसीले वडाको तर्फबाट आवश्यक सहयोग भैरहेको भन्दै आगामी दिनमा नगरपालिकाको तर्फबाट थप सहयोगको पहल भैरहेको बताउनुभयो । केसीले विद्यालयको गरिमामय ईतिहाँस जोगाईराख्न वडाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयको आर्थिक तथा वार्षिक प्रतिबेदन प्रधानाध्यापक टेकनारायण अधिकारीले प्रस्तुत गर्नुभयो । कार्यक्रममा ओम शान्ती पुरस्कार, कृष्णटिका पुरस्कार, बाटुली थापा पुरस्कार, बलवहादुर थापा र पद्मा थापा छात्रृवृति, प्रेमयाम पुरस्कार, वेदबहादुर थापा शैक्षिक पुरस्कार, हरिदत्त तिवारी स्मृति पुरस्कार, विष्णु रिजाल टुहुरा पुरस्कार विद्यार्थीलाई वितरण गरिएको छ । विद्यार्थीहरुलाई दलित तथा जेहेन्दार छात्रृवृति,विभिन्न खेलकूदका पुरस्कार र कक्षागत उत्कष्ठ पुरस्कार पनि वितरण गरिएको छ ।

उक्त अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । पूर्व विद्यार्थीहरुको समूहले २ जना टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । कार्यक्रम विव्यस अधयक्ष गंगाधर तिवारीको अध्यक्षता शिक्षक राजु भुसालको स्वागत र शिक्षक चन्द्रशेखर तिवारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व शिक्षकहरु ढुण्डिराज तिवारी,ढकप्रसाद तिवारी, प्रेम प्रसाद भुसाल, प्रेम शर्मा रिजाल, विद्यालय व्यवस्थापन समितिका सदस्य धनवहादुर थापा, दलित संघका जिल्ला सदस्य पूर्णवहादुर दर्जी , विद्यार्थी उषा अधिकारी , पूर्व विद्यार्थी गोबिन्द तिवारी लगायतले बोल्नुभएको थियो । २०२७ सालमा मावि विद्यालयको रुपमा स्थापित यस विद्यालयमा हाल ३ सय हाराहारीमा विद्यार्थी रहेका छन् ।