
पर्वत– सामान्यतया सरकारी सेवाका कर्मचारीहरुको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ भने शिक्षकहरुको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबरहरु हामी पाउँछौ । तर एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर सोहि विद्यालयवाट अबकास हुने शिक्षकहरुको संख्या हेर्ने हो भने कमै भेटिन्छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानध्यापक बालकृष्ण पुरी ३५ वर्ष एउटै विद्यालयमा अध्यापन गरेर विदाई हुनुभएको छ ।
बुधवार सेवा अवधि पुरा भएर विद्यालयले उहाँलाई विदाई गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र अन्य गाउँलेहरु समेत भावह्यिल हुँदै बिदाई गरेका छन् ।
सोही ठाउँमा जन्मिएर २०४१ साल देखि शिक्षण पेशामा आबद्ध भएका बालकृष्ण पुरीलाई बुधबार विद्यालयले एक समारोहबीच विदाई गरेको हो । करिब चार दशकसम्म संगसंगै एउटै थलोमा काम गर्दै आएका शिक्षकलाई अनिवार्य अवकासको पाँच महिना अगावै विद्यालय र समुदायले विदाई गरेको छ ।
पुरी २०४१ साल देखि २०७६ मंसिर सम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो । गाउँमा एसएलसी पास गर्ने व्यक्ति खोज्नुपर्ने अवस्थाको समयमा एसएलसी उत्तिर्ण गरेका पुरीले अध्यापन शुरु गरेको ७ बर्ष सम्म अस्थायी पेशामा रहेपनि उनी ७ बर्षपछि मात्रै स्थायी शिक्षण पेशा शुरु गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका वर्तमान् प्रधानध्यापक विष्णुप्रसाद शर्माले निबृत्त भएका शिक्षक पुरीको जीवनी बाचन गर्दा आँखा नरसाउने कोही थिएनन् । ‘एउटा शिक्षक मात्रै नभई सामाजिक परिवर्तनमा समेत शिक्षक बालकृष्ण पुरीको ठूलो योगदान थियो’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्ति देवेन्द्रज्यू ठकुरीले गहभरी आँशु पार्दै भन्नुभयो ‘त्यस्तो व्यक्ति हामीबाट विदाई हुँदा कसरी आँशु थामौँ’ उनले प्रकृतिको नियम अनौठो भएको बताउनुभयो ।
कार्यक्रममा मोदी गाउँपालिका उपाध्यक्ष सेती महतले समेत गाउँको मुहार फेर्नका लागि पुरीको अतुलनीय योगदान रहेको भन्दै भोलिका दिनमा विद्यालय बाहिर रहेपनि गाउँ र विद्यालयको उन्नतिका लागि सदैव सक्रिय रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष विमल लामिछानेले लामो सेवा अवधीसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकाश गरिनु विद्यालयका लागि दुःखद कुरा भएको बताउनुभयो । उहाँले वडामा सञ्चालन भएको विद्यालयहरुमा उत्कृष्ठ विद्यालयका रुपमा स्थापित गराउन पुरीले खेलेको भूमिकाको कदर गर्दै भोलिका दिनमा पनि उक्त साख नगिराउन विद्यालय परिवारलाई सुझाव दिनुभएको थियो ।
उनलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने समग्र गाउँका स्थानीय बासिन्दाहरुले समेत अविर, खादा र माला पहिराएर विदाई गरेका थिए ।
विदाई कार्यक्रममा बोल्दै पुरीले विद्यालय प्रतिको माया कहिल्यै नघट्ने बताउँदै विद्यालयमा दरबन्दी गुम्ने भएकाले नै आफुले अनिवार्य अवकासको ५ महिना अगावै राजिनामा दिएको बताउनुभयो । ‘मैले ०७७ बैशाखमा राजिनामा दिएको भए मासिक पेन्सनमा सात सय रुपैँया बढी पाउने थिएँ’ उहाँले भन्नुभयो ‘तर मैले दरबन्दी जोगाउनकै लागि सात सय रुपैँयाको माया मारेर मंसिरमा नै राजिनामा दिएको हुँ’ उहाँले विद्यालय र समाजको उन्नतिका लागि जहाँ रहेपनि सेवामा तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।